अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माग पूरा नभएसम्म एमसीसी अनुमोदन हुन दिँदैनौं :  विशाल भट्टराई

माग पूरा नभएसम्म एमसीसी अनुमोदन हुन दिँदैनौं :  विशाल भट्टराई


काठमाडौं – एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताउनुभएको छ ।

सदनमा नेकपा एमालले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने सचेतक भट्टराईले बताउनुभयो । एमालेले राखेको माग सम्बोधनविना हुने कुनै पनि संसदको कार्यसूचीमा सहभागी नहुने उहाँले बताउनुभयो ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जनाको सांसदबाट पदमुक्त नगरेसम्म एमालेले संसदमा अवरोध कायमै राख्ने भन्दै उहाँले यसबीचमा बैठकमा पेस हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने बताउनुभयो ।

आफूहरूको माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले भन्नुभयो ।

‘संसदमा निकास निस्किएपछि मात्र सदनमा टेबुल भएको एमसीसीको सम्बन्धमा निर्णय लिन्छौं,’ उहाँले भन्नुभयो ।

एमालेले संसद सचिवालयमा एमसीसी दर्ता गराए पनि कांग्रेस र माओवादी केन्द्रले कार्यान्वयनको लागि सम्झौता गरेकोले एमालेको भूमिका कम हुने जिकिर गर्नुभयो ।

एमसीसीभन्दा पनि आफुहरूले राखेको माग ठूलो भएकोले पहिला आफूको माग सम्बोधनमा सभामुखले ध्यान दिनुपर्नेमा समेत बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीको समर्थन वा विरोधमा खुलेर बोलेको छैन भने आइतबार संसद बैठकमा पनि एमालेको विरोधकै बीच एमसीसी टेबुल भएको थियो ।