अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को नामका विषयमा ठूला दलहरू आ-आफ्नै अडानमा

प्रदेश १ को नामका विषयमा ठूला दलहरू आ-आफ्नै अडानमा


विराटनगर – प्रदेश १ को नामाकरण सहमतिका आधारमा टुंगोमा पुर्‍याउने भनिए पनि दलहरू भने आ-आफ्नै अडानमा देखिएका छन् ।

प्रदेश १ को नामाकरणका विषयमा प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादव गठित समितिले मंगलबार आयोजना गरेको सर्वदलीय छलफलमा दलहरूले प्रदेश नामाकरणका विषयमा ठोस कुरा भने राखेनन् । राजनीतिक दलका प्रदेशका शीर्ष नेता सहभागी बैठकले सहमतिका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने उहाँहरूको भनाइ थियो ।

सर्वदलीय बैठकमा एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले गठबन्धनको तर्फबाट धारणा आएपछि बल्ल आफ्नो पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनु भयो ।

सरकारले साझा प्रस्ताव ल्याए त्यसमा छलफल गर्न एमाले तयार रहेको उहाँले बताउनु भयो । न्यौपानेले अहिले एमालेको कसैसँग विमति नभएको र साझा रूपमा एमाले नामको विषयमा छलफल गर्न तयार रहेको बताउनु भयो ।

नेपाली कांग्रेसका प्रदेश सभापति उद्धब थापाले नामाकरणको विषय सजिलो नभएको बताउनु भयो । उहाँले नामको विषय आजै निर्णयमा पुग्न नसक्ने धारणा राख्नुभयो । पहिचानको विपक्षमा कांग्रेस नभएको भन्दै उहाँले जे नाम राखे पनि यहाँ बस्नेले यो नाम मेरो पनि हो भन्ने हुनुपर्नेमा कांग्रेस रहेको बताउनु भयो ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बङले पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्नेमा आफ्नो दल रहेको बताउनु भयो । उहाँले पहिचान पनि कुन भन्नेमा छलफल भइरहेको, तर अहिले नै पार्टी यही नाम हुनुपर्छ भन्नेमा स्पष्ट भइनसकेको बताउनु भयो ।