अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीमा प्रचण्ड-माधवको चार मुख देखियो : महेश बस्नेत

एमसीसीमा प्रचण्ड-माधवको चार मुख देखियो : महेश बस्नेत


धनगढी – नेकपा एमालेका नेता महेश बस्नेतले सत्तामै बसेर सरकारले संसदमा ल्याएको प्रस्तावविरुद्ध अभिव्यक्ति दिएर पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले एमसीसी सम्झौतालाई गिजोलेको आरोप लगाउनुभयो । प्रचण्ड र नेपालको दोहोरो चरित्रले एमसीसीबारे आम जनतामा व्यापक भ्रम सिर्जना भएको उहाँले आरोप छ ।

प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले एमसीसीका सम्बन्धमा प्रचण्ड र नेपालका चार अवतार देखिएको टिप्पणी गर्नुभयो । प्रचण्ड र माधव नेपालकै कारण मुलुक द्वन्द्वतिर धकेलिएको र यसको सबै जिम्मेवारी उहाँहरूले नै लिनुपर्ने समेत दावी गर्नुभयो ।

‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड-नेपालको चरित्रका कारण आज नेपाल विवादित बन्न पुगेको छ,’ नेता बस्नेतले भन्नुभयो, ‘दुईजनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उहाँहरूले नै लिनु पर्दछ।’

पौराणिक कालका ब्रम्हाको जस्तै एमसीसीमा प्रचण्ड र नेपालको चार मुख देखिएको बस्नेतले आरोप लगाउनु भयो । एक मुखले एमसीसी संसदबाट पास गरौँ भन्ने, अर्को मुखले एमसीसीलाई चिठी लेखेर पाँच महीनाभित्र पारित गर्छौं भन्ने । फेरि प्रधानन्यायाधिशलाई महाअभियोग लगायो भने पास गर्छौं र गठबन्धन पनि जोगाउँछौँ भन्ने अनि अर्को मुखले संशोधन भए पनि नभए पनि संकल्प प्रस्ताव लैजाउ भनेर सडकमा कार्यकर्ता उतारेर ढुंगा–ईंटा हान्न पठाउने, टायर बाल्न लगाउने प्रचण्ड र नेपालले राजनीतिक जात्रा देखाएको बस्नेतको आरोप छ ।

 ‘एमसीसीका नाममा मुलुकमा द्वन्द्व सिर्जना गर्दै कार्यकर्ताहरूलाई सडकमा उतारेर पुलिसमाथि ढुङ्गा हान्ने काममा पठाएका छन् । यसको जिम्मेवारी पाँच दलीय गठबन्धन र चार मुखे अवतार प्रचण्ड र माधवले लिनुपर्छ,’ बस्नेतले भन्नुभयो । मुलुकलाई अन्तर्राष्ट्रिय शक्तिको खेल मैदान बनाउने परिस्थिति बन्दै गएकोले यसको जिम्मेवारी सत्ता गठबन्धने लिनुपर्ने उहाँले बताउनु भयो।