अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा एमसीसी : आफ्ना सांसदलाई बिहीबार अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

संसदमा एमसीसी : आफ्ना सांसदलाई बिहीबार अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन


काठमाडौं – नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिनुभयो ।

सचेतक भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताउनु भयो । ‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ,’ भुसालले भन्नुभयो ।

हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरि उपचारका क्रममा भारतमा हुनुहुन्छ ।

कांग्रेस एमसीसीको पक्षमा छ । कांग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिनुभयो । उहाँले पार्टीको संसदीय दलको कार्यालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन भनेर म्यासेज पठाएको पुष्टि गर्नुभयो ।

सत्तारुढ प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ । संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन् । एमालेले एमसीसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । एमालेले आफूहरूका माग सम्बोधन गरेमात्रै एमसीसीको विषयमा निर्णय गर्ने अडान राखेको छ ।