अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीमा सत्तारुढ दलको दोहोरो चरित्र : महासचिव पोखरेल

एमसीसीमा सत्तारुढ दलको दोहोरो चरित्र : महासचिव पोखरेल


बुटवल – नेकपा एमालेका महसचिव शंकर पोखरेलले एमसीसीमा सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो । सरकारमा बसेर दुईथरी दृष्टिकोण बनाउन नमिल्ने उहाँको भनाइ छ ।

एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमसीसी संसदमा टेबुल गर्ने भनेर भित्र सहमति गर्ने तर, सडकमा गाईजात्रा देखाएर माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र प्रर्दशन गरेको बताउनु भयो ।

‘सरकारको दृष्टिकोण एउटै हुनुपर्छ, एउटै दृष्टिकोण नहुने हो भने सरकारमा बस्ने नैतिकता रहँदैन,’ महसचिव पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएका बेला एमसीसीका अहिलेका प्रावधानमा सम्झौता गरिएको र देउवा नेतृत्वको माओवादी सम्मिलित सरकारले सम्झौतामा हस्ताक्षर गरेको उहाँको भनाइ छ । आफैँले गरेको सम्झौतालाई लिएर जनतामा भ्रम सिर्जन गर्ने र सडकमा गाईजात्रा देखाउने काम भएको पोखरेलले बताउनु भयो ।

संसद नचलेसम्म एमाले संसदमा हुने कुनै पनि काम कारवाहीमा सहभागी नहुने भन्दै उहाँले संसदमा छलफल गर्ने वातावरण तयार भएपछि एमालेले एमसीसीप्रतिको आफ्नो धारणा राख्ने बताउनु भयो । हाम्रा ‘मुद्दा सम्बोधन भएपछि संसदका हरेक विषयमा दृष्टिकोण दिन्छौं,’ पोखरेलले भन्नुभयो ।

एमाले कारवाही गरेका १४ जना गैरसांसदलाई राखेर संसद चल्न नसक्ने पनि उहाँले बताउनु भयो। उहाँले सभामुखले गल्ती नसच्याएसम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने बताउनु भयो । एमाले अब निर्वाचनतर्फ केन्द्रित भएको भन्दै जनताको विश्वास जित्ने बलियो शक्तिको रुपमा एमाले स्थापित भएको उहाँले दावी गर्नुभयो ।

दुई दिनसम्म चल्ने प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट कार्यकर्ता सहभागी छन् । सहभागीलाई विभिन्न विषयमा केन्द्रित रहेर समूहगत छलफल गराइने एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताउनु भयो ।