अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह निर्वाचनका लागि एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

स्थानीय तह निर्वाचनका लागि एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता


काठमाडौं – नेकपा (एमाले) ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

आज काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिनु भयो । उहाँले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गर्नुभयो ।

यसैबीच, निर्वाचन आयोगले आज दिउँसोसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्वाचन प्रयोजनका लागि हालसम्म ४० वटा दलले दल दर्ता गराएको बताउनु भयो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायत शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गरेर फर्किंदै ।

उहाँले हाल निर्वाचन आयोगमा १०९ वटा दल दर्ता भएको र यही फागुन १५ गतेभित्र आयोगमा दर्ता भएको दलहरुले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानूनी व्यवस्था भएको पनि स्पष्ट पार्नुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो, ‘स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेक्रममा जारी छ। हिजो (बिहीबार) साँझसम्म ३२ वटा दल दर्ता भएकोमा अहिले करीब ४० वटा दल दर्ताका लागि निवेदन दिइएको अवस्था छ। निर्वाचन आयोगमा १०९ वटा दल दर्ता छन् । फागुन १५ गतेसम्म दर्ता भएको राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था छ।’

प्रवक्ता शर्माले आयोगले स्थानीय तह निर्वाचनको कामलाई तीव्रताका साथ अघि बढाएको बताउनु भयो । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा गरेको छ।