अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न गैरआवासीय नेपाली संघको आग्रह

युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न गैरआवासीय नेपाली संघको आग्रह


काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरेको छ।

‘अझै पनि केही साथीहरु युक्रेनपट्टिको समस्याका कारण पोल्याण्ड प्रवेश गर्न सक्नुभएको छैन । हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने कोशिस जारी राखेका छौं,’ एनआरएनएका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

युद्धका कारण युक्रेन छोडेर सीमावर्ती देश प्रवेश गर्ने नेपालीहरुको अवस्था बुझ्न पन्त अहिले युक्रेन र पोल्याण्डको सीमा–नाका मेडिकामा पुगेका छन् ।

सीमामा कूटनीतिक सहजीकरण कसरी गर्न सकिन्छ भन्नेबारे जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको समेत उहाँले जनाउनु भयो ।

‘यस युद्धको कठिन घडीमा चाहँदाचाहँदै पनि कतिपय विषय भनेजसरी अघि बढ्न सकिरहेको छैन । हामीले प्रयास जारी राखेकाले केही समय धैर्य गर्न म युक्रेनपट्टि रहनुभएका साथीहरुलाई आग्रह गर्दछु,’ अध्यक्ष पन्तले भन्नुभयो ।

सोमबार सिमानामा रहेका नेपालीमध्ये करिब ५० प्रतिशत लाई रेल र बस मार्फत गन्तव्यतर्फ पठाइएको उहाँले बताउनुभयो ।

‘अहिले मुख्य गरी युक्रेनी सीमा पार गर्न र पोल्याण्ड प्रवेश गरेकालाई अन्य सहरमा लगेर राख्न सहजीकरण आवश्यक परेकाले त्यस कार्यमा म सक्रिय रुपमा लागिरहेको छु । यहाँहरु सबैको रचनात्मक सहयोगको अपेक्षासहित समस्यामा रहनुभएकाहरुको सक्दो चाँडो उद्धार हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उहाँले भन्नुभयो ।