अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु


काठमाडौँ-दक्षिण अमेरिकी मुलुक कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ। ठूलो संख्यामा मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तमा जमिनको सतहबाट करिब १०३ किलोमिटर गहिराइमा रहेको बताइएको छ। भूकम्पका शक्तिशाली धक्का पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर क्षेत्रसम्म महसुस गरिएको थियो। छिमेकी मुलुक इक्वेडर र भेनेजुएलासम्म पनि धक्का महसुस गरिएको बताइएको छ।

भूकम्पबाट कफी उत्पादनका लागि प्रसिद्ध पेरेइरा सहर र आसपासका क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीय प्रशासनका अनुसार पेरेइरा क्षेत्रमा मात्रै कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ६५ वटा भवन भत्किएका छन्। तीमध्ये १५ वटा भवनमा मानिसहरू फसेको आशंका गरिएको छ। प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले सुरक्षा व्यवस्थाका लागि मंगलबार बिहान ५ बजेसम्म कर्फ्यु लगाएको जनाएको छ।

भूकम्पबाट भाले डेल काउका क्षेत्र पनि प्रभावित भएको छ। पेरेइराभन्दा करिब १६० किलोमिटर दक्षिणमा रहेको काली सहरमा ३२ वटा भवन भत्किएको अधिकारीहरूले बताएका छन्। काली भूकम्पको केन्द्रबिन्दुबाट करिब २०० किलोमिटर टाढा रहेको छ।

भूकम्पपछि कोलम्बियामा आपत्काल घोषणा गरिएको छ। सुरक्षाकर्मी, स्थानीय उद्धार टोली तथा स्वयंसेवकहरू भत्किएका भवनका भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा जुटेका छन्। भग्नावशेषमा अझै मानिसहरू फसेको हुनसक्ने भएकाले उद्धार कार्यलाई तीव्र बनाइएको छ।

भूकम्पपछि विभिन्न देशका नेताहरूले कोलम्बियाका जनताप्रति समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले कठिन घडीमा कोलम्बियाले फ्रान्सको मित्रता र सहयोगमा भरोसा गर्न सक्ने बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि भूकम्पबाट प्रभावित कोलम्बियाली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले प्रभावित मानिस र देशलाई सहयोग गर्न सक्षम राष्ट्रहरूलाई अघि आउन आह्वान गरेका छन्।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले पनि भूकम्पको अवस्थाबारे आफूले निगरानी गरिरहेको बताउँदै प्रभावित परिवार तथा उद्धारमा खटिएका व्यक्तिहरूप्रति ऐक्यबद्धता व्यक्त गरेकी छन्।

छिमेकी मुलुक इक्वेडरले कोलम्बियालाई तत्काल सहयोगको प्रस्ताव गरेको छ। इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआ अजिनले ४७ जना उद्धारकर्मी, तालिमप्राप्त कुकुर तथा आवश्यक उपकरणसहितको टोली कोलम्बिया पठाउन तयार रहेको बताएका छन्। कोलम्बियाको आवश्यकताअनुसार उक्त टोली परिचालन गर्न इक्वेडर तयार रहेको जनाएको छ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्।