अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिहार उपनिर्वाचन

बिहारमा भाजपाको ३० वर्षे गढ भत्कियो, प्रशान्त किशोर विजयी

बिहारमा भाजपाको ३० वर्षे गढ भत्कियो, प्रशान्त किशोर विजयी


पटना, बिहार-भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा सिटमा भएको उपनिर्वाचनको नतिजा सार्वजनिक भएको छ। तीनमध्ये सबैभन्दा बढी चासोको केन्द्र बनेको बिहारको बाँकीपुर (बाँकीपुर/बान्कीपुर) विधानसभा सिटमा जन सुराज पार्टी (जेएसपी)का संस्थापक तथा चर्चित चुनावी रणनीतिकार प्रशान्त किशोरले ऐतिहासिक जित हासिल गर्दै भारतीय जनता पार्टी (भाजपा)को तीन दशक लामो वर्चस्व अन्त्य गरेका छन्।

विगतमा विभिन्न राजनीतिक दललाई चुनाव जिताउने रणनीतिकारका रूपमा परिचित किशोरले पहिलो पटक आफैं चुनावी मैदानमा उत्रिएर उल्लेखनीय सफलता हात पारेका हुन्। उनले भाजपाका उम्मेदवार नीरज कुमारलाई १९ हजार २४६ मतको फराकिलो अन्तरले पराजित गरे।

निर्वाचन परिणामअनुसार किशोरले ६३ हजार ९४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नीरज कुमारले ४४ हजार ७०० मत पाए। बाँकीपुर लामो समयदेखि भाजपाको बलियो गढ मानिन्थ्यो। यसअघि यही क्षेत्रबाट भाजपा नेता नितिन नवीन लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए। उनी राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको सिटमा उपनिर्वाचन भएको हो।

जितपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै किशोरले बाँकीपुरको विकासलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताए।

उनले भने, ‘म विधायक बन्दैमा बाँकीपुर रातारात बेङ्गलोर बन्दैन, तर आगामी दुई–तीन महिनामै यहाँ देखिने गरी सुधार हुनेछ। मलाई तीन महिनाको समय दिनुहोस्।’

उनले थपे, ‘मैले कुनै असाधारण काम गरेको होइन। तर भाजपाको ३० वर्ष पुरानो गढलाई ३० दिनको चुनावी अभियानमै भत्काएको छु। मेरो ढोका बाँकीपुरका मात्र होइन, सम्पूर्ण बिहारका जनताका लागि खुला छ।’

किशोरले यस परिणामलाई बिहारका मतदाताले भाजपाको केन्द्रीय नेतृत्वलाई दिएको स्पष्ट सन्देशको रूपमा व्याख्या गर्दै बिहारले अब स्वच्छ छवि र सक्षम नेतृत्व चाहेको बताए।

उता, मध्य प्रदेशको दतिया विधानसभा सिटमा कांग्रेसले लगातार दोस्रो पटक भाजपालाई पराजित गरेको छ। कांग्रेसका उम्मेदवार घनश्याम सिंहले भाजपाका आशुतोष तिवारीलाई ६ हजार १६ मतले हराए। यस निर्वाचनमा भाजपाले पूर्व गृहमन्त्री नरोत्तम मिश्राको टिकट काटेर तिवारीलाई उम्मेदवार बनाएको थियो। तर तिवारी मिश्राको आफ्नै मतदान केन्द्रमा समेत पछि परे।

यता, गुजरातको वडोदरास्थित मन्जलपुर विधानसभा सिटमा भने भाजपा आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ। भाजपाका उम्मेदवार सतेन्द्रभाइ (सतीश) पटेलले कांग्रेसका भिखाभाइ रबारीलाई ३० हजार ६३० मतको भारी अन्तरले पराजित गरे।

तीनवटै विधानसभा सिटका लागि गत जुलाई ३० मा मतदान भएको थियो। परिणाम सार्वजनिक भएपछि पटनास्थित जन सुराज पार्टीको कार्यालयमा कार्यकर्ताले विजयोत्सव मनाएका छन्। वडोदरामा भाजपाका समर्थकले गरबा नृत्य गर्दै खुसीयाली मनाएका छन् भने भोपालमा कांग्रेस कार्यकर्ताले पनि दतियाको जितको उत्सव मनाएका छन्।