अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एडीबीलाई परियोजना छिटो अघि बढाउन मन्त्री झाँक्रीको आग्रह

एडीबीलाई परियोजना छिटो अघि बढाउन मन्त्री झाँक्रीको आग्रह


काठमाडौं – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । उहाँले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताउनु भएको हो ।

शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडीबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गर्नुभयो । ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौँ । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस हाम्रो चाहना छ,’ उहाँले भन्नुभयो ।

मन्त्री झाँक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताउनु भयो ।

उहाँले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनको बाबजुद काम गरिरहेको बताउनु भयो । ‘विकास निर्माणको योजना जनताले धेरै काम गरिरहेका छन्, हामीसँग सीमित बजेटले गर्दा धेरै काम गर्न सकिरहेका छैनौँ,’ उहाँले भन्नुभयो ।

पूर्वाधार भइरहेको हाल भइरहेका काम र आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रको विषयमा मन्त्री झाँक्री र एडीबीका प्रतिनिधिबीच छलफल भएको हो ।

छलफलमा मनिलास्थित एडीबीका प्रतिनिधि केनिचि याकोयामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सहरीकरणको गुजरात मोडलअनुसार अब बन्ने सहरीकरणका परियोजना बनाउन सुझाव दिनुभयो । हाल एडीबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिनुभयो ।