अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको निर्वाचनः उम्मेदवार छनोटमा जुटे दलहरु

स्थानीय तहको निर्वाचनः उम्मेदवार छनोटमा जुटे दलहरु


बेनी – आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा दलहरु उम्मेदवार छनोटमा जुटेका छन् ।

चुनावी प्रचार-प्रसार गर्दै घरदैलोमा पुग्न थालेका दलहरुले वडा र पालिकामा आफ्नो पार्टीबाट उम्मेदवार बनाउने विषयलाई समेत छलफलको प्राथमिकतामा राखेका छन्। दलहरुबीच चुनावमा तालमेलको सम्भावना रहेपनि अहिलेसम्म औपचारिक रुपमा छलफल भने अघि बढ्न सकेको छैन ।

नेपाली कांग्रेसले एकमहिने जागरण अभियान सञ्चालन गरेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले टोल कमिटी गठन र घरदैलो अभियान सञ्चालन गरेका छन् । राप्रपा र मङ्गोल नेशनल अर्गनाइजेशनले समेत उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । वडा र पालिकामा स्वतन्त्र उम्मेदवारहरुसमेत खुल्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रले जिल्लाको १० वटा वडामा वडाध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाइसकेको छ । नेकपा एमालेले बेनी नगरपालिकाको तीनवटा वडामा वडाध्यक्षको टुङ्गो लगाएको छ भने कांग्रेसले आन्तरिक रुपमा उम्मेदवार चयनमा जुटे पनि औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको छैन । २०७४ सालको स्थानीय तहको चुनावमा आफूले जितेका सातवटा वडालाई बचाउँदै थप वडा र पालिका जित्ने लक्ष्यसहित चुनावी अभियानसँगसँगै उम्मेदवार छनोटलाई समेत तीव्र पारिएको नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जाली ९सुविन०ले जानकारी दिनुभयो । जिल्ला संयोजक जुग्जाली मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुट्नुभएको छ ।

नेकपा एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्र केसीले चुनावी अभियानसंगै आन्तरिक रुपमा वडा र पालिकाको उम्मेदवार चयनको प्रक्रियासमेत अघि बढेको जानकारी दिनुभयो । उम्मेदवार छनोटलाई दृष्टिगत गर्दै चैत २५ गतेभित्र उम्मेदवारहरुको सिफारिस गरिसक्न पालिका स्तरीय कमिटीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसले समेत जागरण अभियानसँगै उम्मेदवार चयनको प्रक्रियालाई अघि बढाएको छ ।

कांग्रेस जिल्ला सभापति खमवीर गर्बुजाले वडा र पालिका कमिटीलाई उम्मेदवारहरुको नामावली सिफारिस गर्न भनिएको र छिट्टै नै उम्मेदवारहरुको टुङ्गो लाग्ने जानकारी दिनुभयो । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि म्याग्दीमा ८५ हजार ३७५ मतदाता कायम भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणानुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एकजना तेस्रोलिङ्गी मतदाता रहेको छ ।  जिल्लाको ६ वटै स्थानीय तह र ४५ वटा वडामा जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले अन्नपूर्ण गाउँपालिका–८ नागीको हिमाञ्चल मावि, बेनी नगरपालिका–५ चिप्लेटीको डिम्व आधारभूत र मङ्गला गाउँपालिका–१ भरजुलाको बालोदय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको बताउनुभयो ।  

पालिकाअन्तर्गत १७ मतदानस्थल र २८ वटा मतदान केन्द्र रहेको बेनी नगरपालिकामा २४ हजार ७११ मतदाता छन् । १२ वटा  मतदानस्थल र १६ वटा मतदान केन्द रहेको धवलागिरि गाउँपालिकामा १० हजार ९४० जना मतदाता छन् । आठवटा मतदानस्थल र १७ वटा केन्द्र रहेको मङ्गलामा १३ हजार ४१६ मतदाता छन् । १४ वटा मतदानस्थल र १९ मतदान केन्द्र रहेको रघुगङ्गा गाउँपालिकामा १३ हजार ६४७ जना मतदाता छन् । नौवटा मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको मालिकामा १३ हजार २०१ जना मतदाता रहेका छन् भने १४ मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपूर्ण गाउँपालिकामा १२ हजार २६ जना मतदाता कायम भएका छन् ।

स्थानीय तहको निर्वाचनमा म्याग्दीमा २० राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ वटा र मान्यता प्राप्त नभएका १४ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । स्थानीय तह निर्वाचनमा म्याग्दीमा राष्ट्रिय मान्यता प्राप्त ६ पार्टीमध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० रहेका छन् । राष्ट्रिय मान्यता प्राप्त लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीको प्रतिनिधि निर्वाचन कार्यालयमा सम्पर्कमा नआएको कार्यालयले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालयमा राष्ट्रिय मान्यता प्राप्त नभएका दलहरु राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी ९समाजवादी०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल दलित पार्टी, जनसमाजवादी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी, मौलिक जरोकिलो पार्टी, उन्नत लोकतन्त्र पार्टी, सामाजिक एकता पार्टी दर्ता भएको निर्वाचन अधिकारी घिमिरेले जानकारी दिनुभयो ।  

निर्वाचन कार्यालयले कर्मचारीको विवरण सङ्कलन गरेर श्रेणी/तह विवरण छुट्याउने र पालिकामा कति कर्मचारी छन् छुट्याएर मुख्य निर्वाचन कार्यालयमा पेस गर्ने तयारी गरिरहेको निर्वाचन अधिकारी घिमिरेले जानकारी दिनुभयो । मतदानका लागि मतपेटिका लगायतका सामग्रीको तयारीमा कार्यालय लागेको छ । केन्द्रको निर्देशन गरेको कार्यतालिकाअनुसार निर्वाचन केन्द्रित तयारीमा जुटेको उहाँको भनाइ छ । चैत २९ गते नियुक्ति दिने गरी म्याग्दीका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

कार्यालयका अनुसार, बेनी नगरपालिकको समेत जिम्मेवारीसहित मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेल रहनुभएका छ । अन्नपूर्ण गाउँपालिकामा जिल्ला समन्वय अधिकारी जानुका सुवेदी, मङ्गला गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका न्यायाधिवक्ता धर्मराज पौडेल, मालिका गाउँपालिकामा आन्तरिक राजश्व विभाग काठमाडौँका उपन्यायाधिवक्ता गोविन्द उपाध्याय, धवलागिरि गाउँपालिकामा वैदेशिक रोजगार कार्यालय काठमाडौँका निर्देशक हरिराम नागिला र रघुगङ्गा गाउँपालिकामा जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार तेजप्रसाद पौडेललाई निर्वाचन अधिकृतमा तोकिएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् । यसअघि विसं २०७४ को चुनावमा म्याग्दीमा ७१ म्तदानस्थल र ११० वटा मतदान केन्द्र थिए । २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७१ हजार ४६३ मतदाता थिए ।