अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यान इनफोटेक प्रदर्शनी हेर्न एक रुपैयाँ टिकट

क्यान इनफोटेक प्रदर्शनी हेर्न एक रुपैयाँ टिकट


काठमाडौं- क्यान महासंघको आयोजनामा राजधानीस्थित भृकुटीमण्डपमा २७औँ इन्फोटेक एक्स्पो हुँदैछ । आगामी ७ वैशाखदेखि १२ वैशाखसम्म इन्फोटेक सञ्चालन हुनेछ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन क्यानले इन्फोटेक आयोजना गर्ने गरेको हो । उद्योग तथा उद्यमीहरूको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेकको सञ्चालन हुँदै आएको छ ।

इन्फोटेक २०२२ पनि व्यवसायी तथा ग्राहकका लागि अन्तर्क्रियाको प्लेटफर्म हो । इन्फोटेकमा ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरूबीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि क्यानले राखेको छ । तर यसपटकको इन्फोटेकमा भने मेला हुँदैन ।

इन्फोटेकमा व्यवसायीहरूले व्यापार गर्ने सुविधा भने पाउने छैनन् । कार्यक्रममा प्रविधिबारे सिकाउने, नयाँ इनोभेसन भएका कुराहरूबारे जानकारी दिने, प्रदशर्नी गर्ने क्यानको मुख्य लक्ष्य छ ।

प्रदर्शनीमा हार्डवेर र सफ्टवेरको फरक–फरक स्टल, विद्यार्थीले गरेको इनोभेसनहरू, स्टार्टअपहरू, सरकारले सेवा दिन प्रयोग गरेका प्रविधिहरू, बैंकहरूले प्रयोग गरेका प्रविधिहरू राखिनेछ । विगतका एक्स्पोहरूमा जस्तै यसपटक पनि सयभन्दा धेरै कम्पनीहरूले भाग लिनेछन् । त्यस्तै, एक सयभन्दा धेरै स्टल हुने अनुमान क्यानको छ ।

इन्फोटेक २०२२ मा अवलोकनको टिकटको मूल्य मात्र एक रुपैयाँ तोकिएको छ । विगतमा टिकटको मूल्य विद्यार्थीलाई ५० र सर्वसाधारणलाई सय रुपैयाँ राखिएको थियो । एक रुपैयाँ तिर्नका लागि भने डिजिटल पेमेन्ट नै गर्नुपर्ने हुन्छ । त्यहाँ उपस्थित हुने सबैले डिजिटल तरिकाले पैसा तिर्न सिकून् भन्ने ध्येयले यस्तो नियम क्यान महासंघले ल्याएको हो ।