काठमाडौं- भारतीय राजदूत विनयमोहन क्वात्राले मंगलबार राति आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेता सहभागी भएपछि नागरिक अगुवासमेत रहेका लेखक खगेन्द्र संग्रौलाले कडा शब्दमा आलोचना गर्नुभएको छ ।
विदेश सचिवमा बढुवा भएर भारत फर्किन लागेका क्वात्राले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा मंगलबार राति बिदाइ भोज आयोजना गर्नुभएको थियो ।
समानता र सम्मान दोहोरो हुनुपर्ने उल्लेख गर्दै उहाँले क्वात्राको भोजमा सहभागी भएका नेताहरूलाई ‘प्रभुको दास हो’को संज्ञा दिएका छन्। ‘भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ भोजमा प्रम देउवा, पुकदा (पुष्पकमल दाहाल) र माकुने (माधवकुमार नेपाल) लाइन लागेर पुगेछन्।नेपाली राजदूतको बिदाइ भोजमा प्रम मोदी आदि यसैगरी लाइन लागेर आउँछन्’, संग्रौलाले बुधबार बिहानै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘समानता र सम्मान दोहोरो कुरा हो। जो समानता र सम्मानको भावनाको लेस मात्र पनि पर्वाह गर्दैन, ऊ प्रभुको दास हो।’
भोजमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया