काठमाडौं– जनकपुर एमाले प्रवेशको लहर व्यापक भएको मधेस प्रदेशमा सत्ता गठबन्धन धराप पर्दै गएको छ । वीरगञ्ज महानगरपालिकामा विज्ञप्ती नै निकालेर कांग्रेस र जनता समाजवादी पार्टीले एक आपसमा गुड बाइ भनेका छन् भने जनकपुरमा मेयरको एक पदका लागि दुइवटै पार्टीले दाबी नछोडेपछि गठबन्धनको तन्तु कमजोर भएको छ ।
पर्सामा दुवै दलको चाहना भए पनि कार्यकर्ताको चाहना गठबन्धन भएकोले ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने कुटनीतिपूर्ण विज्ञप्ती जारी गरेर उनीहरु छुट्टिएका छन् । त्यहाँ १४ वटै स्थानीय तहमा दुवैपार्टीका कार्यकर्ताले गठबन्धन गर्न रुची गरेनन् ।
यसैगरी मधेस प्रदेशको राजधानी जनकपुरमा कांग्रेस उपमहानगर सभापति मनोज कुमार साहले २५ वटै वडामा गठबन्धन नहुने बताउनुभएको छ । ‘कार्यकर्ताको बलमा चुनाव जित्ने हो गठबन्धन गर्दा कांग्रेसका सबै कार्यकर्ता निराश देखिए,’ साहले भन्नुभयो, ‘त्यसैले कार्यकर्ताको मनोवल उच्च बनाउन हामी २९ वटै वडामा गठबन्धन गर्दैनौं ।’
मधेसको अर्को ठूलो शक्ति जसपाले पनि कांग्रेसलाई उसै गरी जवाफ फर्काउने भएको छ । जसपा जनकपुरका अध्यक्ष विष्णुदेव साहले वर्तमान मेयर जसपाकोे भएकोले केन्द्रीय नीति अनुसार नै आफूहरुले मेयर पद पाउनु पर्ने बताउनुभयो । ‘कांग्रेसको एकल हठले हामीलाई गठबन्धनबाट अलग गर्दैछ’ विष्णुदेवले भन्नुभयो ‘मधेसको ठूलो पार्टी हामी महानगर र उपहमानगर सबै कांग्रेसलेलाई बुझाएर हामीले के लिने ?’
मधेसमा यस अघि जीतपुर सिमरा र कलैया उपमहानगरमा पनि गठबन्धन दलहरु एक आपसमा नै प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् ।







प्रतिक्रिया