अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवाविरुद्ध चितवनमा पर्‍यो उजुरी

प्रधानमन्त्री देउवाविरुद्ध चितवनमा पर्‍यो उजुरी


चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनमा उजुरी परेको छ।

चुनावी सभा सम्बोधनका लागि भरतपुर जान लागेका देउवाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।

निर्वाचन आचारसंहिता उल्लंघन गरेर चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको उहाँले बताउनु भयो । ‘आचारसंहिताको अनुसूची ४ अन्तर्गत एउटा उजुरी परेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले निर्वाचन आयोगलाई जानकारी गराइसकेका छौँ।’

निर्वाचन आचारसंहिताअनुसार निर्वाचनमा आफैँ उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचार प्रसार गर्न नपाइने व्यवस्था छ।

प्रधानमन्त्री देउवा बास बस्ने गरी बुधबार चितवन जाँदै हुनुहुन्छ । भरतपुर महानगरपालिकाको प्रमुख फेरि नेकपा माओवादी केन्द्रको भागमा परेपछि कार्यकर्तामा चुलिएको असन्तुष्टि मत्थर पार्न देउवा चितवन जान लाग्नु भएको हो ।

सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरको हाकिम चोकमा संयुक्त चुनावी सभा आयोजना गर्दैछ। बिहान ११ बजेबाट सुरु हुने सभालाई प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ।