काठमाडौं-प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडेर आफ्नो नाममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। उनले आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको नाम जोडेर अमेरिकामा ‘घुस’ र सापकोटाको मोबाइलबाट प्रमाण खुलेको दाबीसहित प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।
बिहीबार जारी विज्ञप्तिमार्फत प्रधानन्यायाधीश शर्माले आफूलाई जोडेर आएका समाचारहरू आधारहीन रहेको दाबी गरेका छन्। सापकोटासँग आफ्नो कुनै सम्बन्ध, सम्पर्क वा संलग्नता नरहेको स्पष्ट पार्दै उनले समाचारमा उल्लेख गरिएका व्यक्तिहरूसँग आफूले चिनजानसमेत नरहेको स्पष्ट पारेका हुन् ।
‘जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्ति एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन। ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन। मैले कहिल्यै भेटेको पनि छैन,’ विज्ञप्तिमा भनिएको छ।
‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनामको मोबाइलले खुलाएको प्रमाण!’ लगायतका शीर्षकमा समाचार प्रकाशित भएको उल्लेख गर्दै शर्माले ती समाचारलाई आधारहीन, झुटा र कपोलकल्पित भएको बताएका छन्। उनले यस्ता समाचारबाट जनतामा भ्रम फैलाउने काम भएको भन्दै भर्त्सना गरेका छन्। साथै, अपुष्ट विवरणका आधारमा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका घटनासँग आफ्नो नाम जोडिएकोप्रति समेत उनले आपत्ति जनाएका छन्। ती मितिमा आफू प्रधानन्यायाधीश भइनसकेको अवस्था रहेको उनको भनाइ छ।



प्रतिक्रिया