काठमाडौं-चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको सुरक्षा र अत्यावश्यक सेवाको निरन्तर सञ्चालनका लागि मातहतका सबै निकायलाई उच्च सतर्कतासहित तयारी अवस्थामा राखेको छ।
भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको छ। यद्यपि, यसको सम्भावित प्रभावका कारण वर्षा, हिमपात र केही स्थानमा हावाहुरीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।
सम्भावित मौसमी जोखिमबारे सर्वसाधारणलाई सचेत गराउन सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङमार्फत सूचना प्रवाह गरिरहेका छन्। स्थानीय प्रशासनले पनि आफ्नो क्षेत्रको जोखिम मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन आह्वान गरेका छन्।
यसैबीच, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अद्यावधिक गरेर मात्र यात्रा तय गर्न पर्यटक तथा पर्वतारोही टोलीलाई आग्रह गरेका छन्।
हवाई सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण तथा वैकल्पिक उडान योजनासम्बन्धी तयारी चुस्त राख्न निर्देशन दिएको छ। साथै, सञ्चार तथा विद्युत् प्रणालीलाई समेत पूर्ण तयारी अवस्थामा राख्न भनिएको छ।
सरकारले सम्भावित मौसमी जोखिमबाट सुरक्षित रहन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। चक्रवातबारे फैलिन सक्ने भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न र आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न पनि सरकारले अपिल गरेको छ।
सम्भावित वर्षा, हिमपात र हावाहुरीको जोखिमलाई ध्यानमा राख्दै मौसम पूर्वानुमानअनुसार आवश्यक सतर्कता अपनाउन तथा आफ्नो र परिवारको सुरक्षामा ध्यान दिन सरकारले आग्रह गरेको छ।



प्रतिक्रिया