अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इनम सापकोटासम्बन्धी समाचारमा प्रहरीको ध्यानाकर्षण, आधिकारिकता पुष्टि गर्न आग्रह

इनम सापकोटासम्बन्धी समाचारमा प्रहरीको ध्यानाकर्षण, आधिकारिकता पुष्टि गर्न आग्रह


काठमाडौं-इनम सापकोटाको अनुसन्धान र विभिन्न व्यक्ति तथा उच्च पदस्थ अधिकारीहरूसँगको सम्बन्धबारे सञ्चारमाध्यममा सार्वजनिक भइरहेका समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण गराएको छ। परिसरले अनुसन्धानसँग सम्बन्धित विवरण प्रकाशन तथा प्रसारण गर्नुअघि तिनको आधिकारिकता पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानका क्रममा रहेका संवेदनशील विषय तथा प्रमाणहरू सार्वजनिक नगरिएको स्पष्ट पारेका छन्। कानुन र प्रचलित प्रक्रियाअनुसार अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रहरीले त्यस्ता विवरण कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको जनाएको छ।

पछिल्लो समय सापकोटाको प्रहरी नेतृत्व, पूर्वप्रहरी अधिकारी तथा न्यायिक क्षेत्रका व्यक्तिहरूसँग सम्बन्ध रहेको दाबीसहितका समाचार सार्वजनिक भइरहेका छन्। यस्ता समाचारप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्नु आफ्नो जिम्मेवारी भएको जनाएको हो।

अनुसन्धानसँग सम्बन्धित अपुष्ट विवरण सार्वजनिक हुँदा सर्वसाधारणमा भ्रम उत्पन्न हुन सक्ने भन्दै प्रहरीले समाचार सम्प्रेषण गर्दा तथ्य र स्रोतको आधिकारिकता जाँच गर्न आग्रह गरेको छ। साथै, अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना गर्न पनि सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराइएको छ।

सापकोटालाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा हिरासतमा राखेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउपछि उनको मोबाइलको प्राविधिक परीक्षणका क्रममा प्राप्त विवरणका आधारमा सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको भन्ने विवरण यसअघि विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका थिए।

राणासँगको सम्बन्ध र मोबाइल परीक्षणको विषयलाई लिएर प्रहरी महानिरीक्षक दानबहादुर कार्की, एआईजी राजन अधिकारी, पूर्वएआईजी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँललगायतको नाम जोडिएका समाचारसमेत सार्वजनिक भएका छन्।

यद्यपि, अनुसन्धानसँग सम्बन्धित यस्ता विवरण प्रहरी परिसरबाट आधिकारिक रूपमा उपलब्ध नगराइएको विज्ञप्तिमा उल्लेख छ। प्रहरीले अनुसन्धानबारे सार्वजनिक हुने सबै विवरणलाई आधिकारिक मान्न नहुनेतर्फ सञ्चारमाध्यमको ध्यानाकर्षण गराउँदै पुष्टि भएका तथ्य र विश्वसनीय स्रोतका आधारमा मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गरेको छ।