अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति थापाले गराए कांग्रेसका पदाधिकारी र सदस्यलाई शपथ

सभापति थापाले गराए कांग्रेसका पदाधिकारी र सदस्यलाई शपथ


काठमाडौँ-नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित समारोहमा सभापति गगन थापाले उनीहरूलाई शपथ गराएका हुन्।

शपथ ग्रहणसँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेको छ। शपथ ग्रहणलगत्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि बिहीबार नै बस्ने जनाइएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिएको हो। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरणसँगै पदबहाली गराउने व्यवस्था गरिएको उनले जानकारी दिए।

सभापति थापाले यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिइसकेका थिए। त्यसैले बिहीबार सभापतिबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो। उक्त निर्वाचनमा थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका थिए।

महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला निर्वाचित भएका थिए।

निर्वाचन समितिका अनुसार सात हजार ३९२ मतदाताको मतगणना एक सातामा सम्पन्न गरिएको थियो। कुल २२९ पदका लागि भएको निर्वाचनमा झण्डै एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो।

नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले पार्टीको आगामी कार्यदिशा, संगठनात्मक गतिविधि तथा महाधिवेशनपछि अघि बढाउनुपर्ने कामबारे छलफल गर्ने अपेक्षा गरिएको छ।