काठमाडौं-चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी केही दिनमा देशका प्रमुख राजमार्ग तथा नदी किनारका सडकखण्डमा पहिरो, बाढी र कटानको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सूचना जारी गर्दै विशेषगरी नारायणी, बागमती र कोशी नदी जलाधार क्षेत्रमा वर्षा हुँदा राजमार्गका विभिन्न खण्डमा पहिरो तथा बाढीको जोखिम बढ्न सक्ने जनाएको हो।
केन्द्रका अनुसार चक्रवातको सम्भावित प्रभावले पहाडी तथा भिरालो भूभागमा रहेका सडकखण्डमा पहिरो जाने, ढुङ्गा खस्ने र सडक भासिने जोखिम छ। नदी किनारका सडकमा पानीको सतह बढ्दा बाढी तथा कटान हुन सक्ने र साना–ठूला खहरे खोला तथा कल्भर्टमा पानीको बहाव बढेर सडकमा क्षति पुग्न सक्ने अनुमान गरिएको छ।

पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएमा यातायात सञ्चालन प्रभावित हुनुका साथै अत्यावश्यक वस्तुको ढुवानीमा समेत समस्या आउन सक्ने केन्द्रले औँल्याएको छ।
केन्द्रले जोखिममा पर्न सक्ने प्रमुख सडकखण्डमा नारायणगढ–मुग्लिन सडक, कोशी राजमार्ग र सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्रलाई समेटेको छ। त्यस्तै कान्ति राजमार्ग, अरनिको राजमार्ग, बागमती नदी जलाधार क्षेत्रसँग जोडिएका सडक तथा विगतमा पहिरो जाने गरेका र नदी किनारमा रहेका अन्य सडकखण्डमा पनि जोखिम रहन सक्ने जनाएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकाय तथा सडक प्रयोगकर्ताले सतर्कता अपनाउनुपर्ने देखिएको छ। वर्षाका कारण सडकको अवस्था बिग्रिएमा यात्रा प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्नु र जोखिमयुक्त स्थानमा विशेष सावधानी अपनाउनु आवश्यक छ।




प्रतिक्रिया