अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङका लाहुरे बाबुले दोधारा चाँदनीमा छोडेका किशोर साँवा कसरी भए मेयर ?

ताप्लेजुङका लाहुरे बाबुले दोधारा चाँदनीमा छोडेका किशोर साँवा कसरी भए मेयर ?


काठमाडौं – ‘महाकाली पारीको नेपाल’ भनेर चिनिने दोधारा चाँदनीमा किशोर लिम्बूले मेयर पदमा चुनाव जिते भन्ने सुन्दा धेरैलाई अनौठो लागेको छ । चुनाव जितेको कुरालाई होइन कि चुनाव जित्ने पात्रको थरका कारणले ।

लिम्बू जाती प्रदेश नं १ का जिल्लाहरुमा बहुल बसोबास भएको जाती हो । यो जातीको केही बसोबास काठमाडौं लगायत देशका विभिन्न भू-भागमा पनि छ । तर काठमाडौंबाट पश्चिमतिर एकदम नगण्य मात्रामा लिम्बूजातिको बसोबास पाइन्छ । त्यसमा पनि सुदुरपश्चिमको सिमान्त जिल्ला कञ्चनपुर त्यसमा पनि महाकाली पारीको चाँदनी दोधारमा लिम्बूको छोरोले मेयर पदमा चुनाव जित्दा धेरैलाई आश्चर्य लागेको छ ।

आखिर किशोर लिम्बू कहाँबाट कसरी चाँदनी दोधाराका स्थायी बासिन्दा भएर त्यहाँको नेकपा एमालेको नेता भए अनि मेयर पद पनि जित्न सके होलान् त ?

यी जिज्ञासाहरु राखेर हामीले नवनिर्वाचित मेयर किशोरसँग संक्षिप्त कुरा गर्‍यौं । विजय र्‍यालीमा हाई हाई भइरहेका किशोरले  आफूलाई  धेरैले लिम्बू भन्दा नपत्याउने कतिले कहाँबाट यहाँ आउनु भयो भनेर बारम्बार उत्तर दिनु परेको बताउनुभयो ।

किशोरको पूख्र्यौली घर ताप्लेजुङको सिनाम रहेछ । सिनाम हाल सिरिजंघा गाउँपालिकामा पर्दछ । त्यहाँबाट किशोरका बुबा भारतीय सेनामा भर्ती हुनुभएछ । देहारदुनमा कार्यक्षेत्र भएका किशोरका बुबाले आफ्नो पेन्सन भएसँगै चाँदनी दोधारामा आएर घरबास बस्नु भएको रहेछ । ‘म त्यस्तै दुई वर्षको थिएँ होला हो यहाँ आउँदा’ पूर्वेली लवजमै किशोरले यो बेलासँग भन्नुभयो ‘पछि आमाबाबु बसाईं सरेर झापा जानुभयो । म यतै बसें । यतै राजनीति गरें । अहिले यहीका जनताले मेयर बनाइदिए ।’

 संयोग पनि गजब कै रहेछ । किशोरका आमा सहित परिवारका अरु सदस्य पूर्वको सिमान्त नगरपालिका मेचीनगर नगरपालिकाको चाराली बस्दा रहेछन् । किशोर पश्चिमी सिमान्त नगरपालिका चाँदनी दोधाराका मेयरमा निर्वाचित हुनुभयो । ‘अब त्यही भन्नुपरो हामी मेची देखि महाकालीसम्मै छौं भनेर’ किशोरले भन्नुभयो ‘हाम्रो घरगाउँ जता भए पनि बसेको ठाउँमा राम्रो काम गर्नुपर्ने रहेछ । नेपाली समाज एकले अर्कालाई सजिलै स्विकार्न सक्ने छ भन्ने कुरा पनि प्रमाणित भयो नि हैन ?’

 किशोरको खास थर अहिले पनि धेरैलाई थाहा छैन । उहाँलाई धेरैले लिम्बू भनेर चिन्छन् केहीले सूब्बा भन्छन् । ‘मेरो थर मादेन साँवा हो तर धेरैले मलाई लिम्बू भनेर चिन्छन्’ किशोरले भन्नुभयो ‘म अहिले हतारमा छु । र्यालीमा छु । अरु पनि रमाइला कुरा छन् पछि फोन गर्छु । ’

  किशोरले मेयरको टिकट पाएपछि उहाँका एकजना आफन्तले धरानबाट  किशोरलाई शुभकामना दिंदै लिम्बू जातिभित्रका ४सय४७ थर मध्येको एक थर मादेन साँवा रहेको उल्लेख गर्नुभएको छ । ‘थोरै जनसंख्या भएको मादेन साँवा भित्रबाट प्रदेश नं १ मा तीनजना माननीय हुनुहुन्छ । संख्याको अनुपातमा यो राम्रो कुरा हो । यही बैशाख ३० गते हुने स्थानीय चुनावमा सुदुरपश्चिम महाकाली अञ्चल कञ्चनपुर जिल्ला भारतीय सिमानासँग सटिएको दोधाराचाँदनी नगरपालिकाबाट हाम्रो भतिज किशोर लिम्बू साँबा नेकपा एमालेबाट उम्मेद्वार हुनुहुन्छ । भतिजलाई जितको अग्रिम शुभकामना । ’

अर्का आफन्तले किशोर मेयर पदमा निर्वाचित भएपछि अर्का आफन्तलाई पनि अचम्म लागेछ । उहाँ लेख्नुहुन्छ ‘सुन्दै अचम्म लाग्छ । गर्व लाग्छ । सुदुरपश्चिम महाकाली अञ्चलको कञ्चनपुर जिल्लाको भारतको सिमानामा रहेको दोधाराचाँदनी नगरपालिकामा एमालेबाट हाम्रो बन्धु निर्वाचित हुनु भएको देख्दा बन्धु भतिज किशोर मादेन साँबालाई धेरै धेरै बधाई । जनताको मन छुने सफल कार्यकालको शुभकामना । ’

  लिम्बुले ७ हजार १०४ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार भट्टलाई पराजित गर्नु भएको हो । भट्टले ६ हजार १७१ मत पाउनु भएको छ ।