अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा कांग्रेस र माओवादीको नेतृत्व

जुम्लामा कांग्रेस र माओवादीको नेतृत्व


जुम्ला – जुम्लाको आठ स्थानीय तहमध्ये पाँच तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

दुई तहमा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ भने यहाँको एकमात्र चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ ।

उक्त नगरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले दुई हजार ४०३  मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाही दुई हजार ३४१ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसले हिमा, कनकासुन्दरी गाउँपालिकामा उपाध्यक्ष र चन्दननाथ नगरमा उपप्रमुख जितेको हो ।

त्यस्तै माओवादीले तिला, सिंजा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षसहित जित हासिल गरेको छ । तातोपानी, पारारासी गाउँपालिकाको उपाध्यक्ष पनि माओवादीले जितेको हो । नेकपा एकीकृत ९समाजवादी० पार्टीले जिल्लाको गुठीचौर गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ ।

विसं २०७४ को निर्वाचनमा माओवादीले तीन अध्यक्ष र पाँच उपाध्यक्ष जितेको थियो । एमालेले तिला गाउँपालिको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । जिल्लामा अहिले एमालेले आफ्नो विरासत गुमाएको छ ।

यसैबीच जिल्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दर लक्ष्मण शाहीले पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहणलगत्तै अध्यक्ष शाहीले गाउँपालिकाका सम्पूर्ण घरपरिवारका नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गर्नुभएको छ । ६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, गरिब विपन्न, अपाङ्गता भएका तथा असहाय व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको शाहीले बताउनुभयो ।