अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेटौंडाको मेयरमा पहिलो महिला मीनाकुमारी लामा

हेटौंडाको मेयरमा पहिलो महिला मीनाकुमारी लामा


हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवारी दिनुभएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी हुनु भएको छ ।

बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडामा लामा पहिलो महिला मेयर बन्नु भएको हो । कुल ७३ हजार ४१४ भोट खसेको हेटौंडामा लामाले २३ हजार ७५ मत ल्याउनु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २० हजार ९०८ मतसहित दोस्रो स्थानमा रहे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गर्नु भएको छ ।

लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयरमा विजयी हुनु भएको थियो । नेकपा एमालेको विभाजनपछि लामा नेकपा एसबाट सक्रिय राजनीतिमा लाग्नुभएको थियो । एक कार्यकाल उपमेयर भएर काम गर्नुभएकी लामा जिल्लाको पहिलो मेयर भएर इतिहास रच्नु भएको छ ।

त्यसैगरी, गठबन्धनकै तर्फबाट उपमेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले विजय हुनु भएको छ । बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गर्नु भएको छ । राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटीले ५ हजार ४८३ मतसहित तेस्रो स्थान हासिल गर्नुभयो ।