उदयपुर – उदयपुरको रौतामाई गाँउपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पद गुमाएको नेकपा एमालेले कार्यपालिकामा बहुमत पुर्याएको छ ।
मंगलवार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा मनोनयन दर्ता गराएका एमालेका सबै सदस्य निर्वाचित भएका छन् । निर्वाचित महिला सदस्यबाट चार र सिमान्तकृत, अल्पसंख्यक समुदायबाट दुई जना गरी ६ जना थप हुने कार्यपालिकामा सबै जना एमालेबाट निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरुमा महिलातर्फ गौरीमाया मगर, ज्ञानकुमारी मगर, देविमाया दहाल, वर्तहिरा राई, दलितबाट दुर्गबहादुर सार्की र अल्पसंख्यकतर्फ बसन्तकुमार चाम्लिङ रहेको निर्वाचन अधिकृत सुवास भट्टराईले जानकारी दिनु भयो । गठबन्धन उमेदवारलाई पछि पार्दै एमाले उमेदवार विजयी भएका हुन् ।
यो सँगै रौतामाईमाईमा १६ जनाको कार्यपालिका बोर्ड गठन भएको छ । त्यसमध्ये एमालेका ११ जना, नेपाली कांग्रेसका उपाध्यक्षसहित ३ जना र नेकपा माओवादी केन्द्रबाट अध्यक्षसहित दुई जना रहेका छन्। पालिका अध्यक्ष र उपाध्यक्ष नजिते पनि निर्णायक भुमिकामा भने एमाले नै देखिएको छ ।
सर्वसहमत नभएका प्रस्तावमाथि छलफल गर्दा वहुमत र अल्पमतको अंकगणितिय खेलमा एमालेको धारणा नै अन्तिम हुने देखिएको छ ।
८ वटा वडा र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी ४२ जना निर्वाचित जनप्रतिनिधि रहेको रौतामाईमा एमालेले एक्लैले २३ जना र बाँकी गठबन्धनबाट विजयी भएका हुन् ।
एमालेले वडा-१, २, ३, ५, ७ गरी ५ वडा, कांग्रेसले पालिका उपाध्यक्षसहित वडा-४ र ८, माओवादीले पालिका अध्यक्षसहित वडा-६ मा वडाध्यक्ष जित निकालेको हो ।
गठबन्धनकै कारण एमालेले वडाको संख्या बढाउन नसकेको एमालेका रौतामाई गाउँपालिका कमिटी अध्यक्ष केशव राईले बताउनु भयो । उहाँले भन्नुभयो, ‘२०७४ को निर्वाचनमा पनि हामीले पाँच वडा नै जितेका हौ, त्यसमा वडा ६ र ८ बाट दुई जना सदस्य थप गर्न सफल भयौं ।’ विजयी वडा फेरवदल भए पनि संख्यात्मक हिसावले एमालेको मत भने नघटेको उहाँले बताउनु भयो ।
यता गठबन्धन गरेर मैदानमा होमिएको माओवादीले भने अघिल्लो दुई वडाबाट एकमा सिमित भएको हो। काँग्रेसले भने अघिल्लो आकारमा एक वडा थप गरेको छ ।
अघिल्लो पटक एमालेका उमेदवार गजेन्द्रबहादुर खड्कासँग पराजित भएका हालका अध्यक्ष बिरेन्द्रकुमार मगर यसपटक भने गठबन्धन गरेर भए पनि बाजी मार्न सफल हुनु भयो । अघिल्लो निर्वाचनमा नै अध्यक्षमा तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उमेदवार भुपेन्द्र थापा भने यसपटक गठबन्धनबाट उपाध्यक्षमा जित निकाल्न सफल हुनु भएको हो ।




प्रतिक्रिया