अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘अर्नब’ चक्रवातको प्रभाव : उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित

‘अर्नब’ चक्रवातको प्रभाव : उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित


काठमाडौँ-बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अप्रत्यक्ष प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शुक्रबार बिहानैदेखि मौसम बदली भई दिनभरजसो भारी वर्षा हुँदा उपत्यकाको जनजीवन प्रभावित भएको छ ।

निरन्तरको वर्षाका कारण काठमाडौँका मुख्य सडक तथा बजार क्षेत्रका कतिपय स्थानमा पानी जमेको छ । सडकमा पानी भरिँदा पैदलयात्री, सवारीचालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ । मुख्य तथा भित्री सडकमा सवारीसाधनको चाप र पानी जम्ने समस्याले यातायातसमेत प्रभावित भएको छ ।

दैनिक कामकाजका लागि घरबाहिर निस्किएका सर्वसाधारण वर्षाका कारण समस्यामा परेका छन् । बिहानैदेखि आकाशमा बादल लाग्ने र समय–समयमा वर्षा हुने क्रम जारी रहँदा उपत्यकाको तापक्रमसमेत घटेको छ । मौसममा आएको परिवर्तनसँगै चिसो बढेको महसुस गरिएको छ ।

चक्रवातको अप्रत्यक्ष प्रभावका कारण नेपालमा मौसम बदली भई वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ ।

लगातारको वर्षाका कारण नदी तथा खोलानालाको जलस्तर बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ । जोखिमयुक्त स्थानमा नजान, नदी तथा खोलाको किनारबाट टाढा रहन र अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।