अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च अदालतको फुलकोर्ट बैठक निष्कर्षविहीन, सोमबार पुनः बस्ने

सर्वोच्च अदालतको फुलकोर्ट बैठक निष्कर्षविहीन, सोमबार पुनः बस्ने


काठमाडौं-सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठक (फुलकोर्ट) बिना निष्कर्ष टुंगिएको छ। न्यायपालिका र न्यायाधीशहरूमाथि पछिल्लो समय उठेका गम्भीर प्रश्न तथा विवादबारे साझा धारणा बनाउन प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बोलाएको बैठकमा कुनै सहमति जुट्न नसकेको हो।

बैठकमा प्रधानन्यायाधीश शर्मासहित सर्वोच्च अदालतका १६ मध्ये १४ जना न्यायाधीश सहभागी थिए। वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश अब्दुल अजिज मुसलमान विदेशमा रहेकाले बैठकमा उपस्थित हुन सकेनन्।

करिब एक घण्टासम्म चलेको बैठकमा विचौलिया भनिएका इनम सापकोटासँग प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर सञ्चारमाध्यममा आएका समाचार तथा त्यसबाट उत्पन्न विवादबारे छलफल भएको थियो।

छलफलका क्रममा केही न्यायाधीशले यस प्रकरणमा आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेका थिए। तर छानबिन समिति गठन गर्ने विषयमा न्यायाधीशहरूबीच सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन बनेको स्रोतले जनाएको छ।

शुक्रबारको बैठकबाट कुनै निर्णय हुन नसकेपछि आगामी सोमबार पुनः बैठक बस्ने सहमति भएको छ। सोमबारको बैठकमा विदेशमा रहेका न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजिज मुसलमानसमेत सहभागी हुने अपेक्षा गरिएको छ।