भक्तपुर-गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले मतदाताको शिर उँचो हुने काम गर्ने बताउनुभएको छ ।
भक्तपुरको लोकन्थलीमा आज गौरादह समाजले आयोजना गरेको बधाई तथा शुभकामना सन्देश कार्यक्रममा सुवेदीले गौरादहको विकास र परादर्शीता आफ्नो मुल उद्धेश्य रहेको बताउनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रको नगरपालिका भएकोले वर्तमान सरकारले आग्रहपूर्ण ढंगले यस नगरको विकासका आयोजना कटौती गरेको सुवेदीले बताउनुभयो । ‘गौरादहमा १४ वटा सडक योजनाहरु कटौती भए त्यसमा चारवटा ठूला सडक छन्’ सुवेदीले भन्नुभयो ‘सरकारले ठाउँ विशेषका योजना कटौती गरेर जनताप्रति विभेद गर्न पाउदैन ।’
सुवेदीले आफूसँग अनुभवी पूर्व कर्मचारीहरु पनि जनप्रतिनिधी पनि भएकोले नगरपालिकाको आन्तरिक सुधारका काममा लागिरहेको बताउनुभयो । गौरादह अध्यक्ष ओलीको निर्वाचन क्षेत्रको नगरपालिका भएकोले पनि आफूहरु विशेष सतर्क भएर देशकै नमुना नगरपालिका बनाउने गरी काममा लाग्ने सुवेदीको प्रतिवद्धता छ ।
कार्यक्रममा गौरादह नगरपालिका उपप्रमुख जलवर्षा राजवंसी,वडा नं चारका अध्यक्ष दुर्गामणी बस्नेत, पाँचका अध्यक्ष जगन्नाथ खनाललाई सम्मान गरिएको थियो । कार्यक्रममा एमाले नेता युवराज कार्कीले विजेता सबैलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो । झापा काठमाडौं सम्पर्क मञ्चका सचिव मनोज दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।







प्रतिक्रिया