काठमाडौं-नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने तथा जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएको छ। कांग्रेसले कानुनी प्रक्रिया मिचेर पत्रकार पक्राउ गर्ने र उनीहरूमाथि अनावश्यक धरपकड तथा दुर्व्यवहार गर्ने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार पार्टी सभापति गगनकुमार थापाले विज्ञप्ति जारी गर्दै समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको टिप्पणी गरेका छन्।
सभापति थापाले विगतमा शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि आक्रमण भएका घटनाको स्मरण गराउँदै त्यस्तै प्रवृत्ति पुनः दोहोरिनु लोकतन्त्रका लागि दुःखद र चिन्ताजनक विषय भएको बताएका छन्।
‘समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाहीकालको निरङ्कुशताको झल्को दिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सञ्चारमाध्यम वा पत्रकारबाट कुनै गल्ती वा त्रुटि भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रिया रहेको जनाएको छ।
ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सीधै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (रुल अफ ल) को मर्मविपरीत भएको कांग्रेसको ठहर छ। यस्तो कार्यले कानुनको शासनलाई कमजोर बनाउँदै कानुनलाई नै शासनको औजार बनाउने प्रवृत्ति (रुल बाई ल) लाई प्रश्रय दिने थापाले बताएका छन्।
नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको पक्षमा संघर्ष गर्दै आएको उल्लेख गर्दै निरङ्कुश तथा स्वेच्छाचारी कदमविरुद्ध निरन्तर उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न तथा कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग जोडदार माग गरेको छ।
सभापति थापाले पत्रकारलाई पक्राउ गरेर जनदबाबपछि रिहा गर्ने प्रवृत्तिको अन्त्य गरी कानुनविपरीत हुने पक्राउ र दुर्व्यवहार नै बन्द गर्नुपर्नेमा जोड दिएको छ।




प्रतिक्रिया