अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को नाम टुंगो लगाउन सरकार र एमालेबीच सहमति जुट्दै

प्रदेश १ को नाम टुंगो लगाउन सरकार र एमालेबीच सहमति जुट्दै


विराटनगर – प्रदेश १ को नामकरणको विषय यही अधिवेशनबाट टुंगो लगाउन सरकार र प्रतिपक्षी दल नेकपा एमाले सहमत भएका छन् ।

सरकारका तर्फबाट प्रदेशको नामाकरणका लागि सरकारले गठन गरेको समन्वय र वार्ता समितिका संयोजक जयराम यादव र नेकपा एमालेले गठन गरेको नामाकरण सहजीकरण कार्यदलका संयोजक हिक्मतकुमार कार्कीबीच यस्तो सहमति भएको हो ।

प्रदेशको स्वास्थ्य मन्त्रालयमा आज उक्त छलफल भएको प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका संयोजक यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माननीय हिक्मत कार्कीलाई नेकपा एमालेले प्रदेशको नामाकरणबारे टोलीको संयोजक तोकेको हुनाले उहाँसँग कुराकानी भएको हो । यही अधिवेशनबाट नामको टुंगो लगाउने भन्ने विषयमा सहमति भएको छ ।’

पूर्वमन्त्रीसमेत रहेका कार्कीको सचिवालयले पनि छलफलबाट यही बजेट अधिवेशनभित्र अन्य दलहरूसँग पनि छलफल गरेर प्रदेशको नामाकरणलाई सार्थक निष्कर्षमा पुर्याउने सहमति भएको जनाएको छ ।

यसअघि प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले कांग्रेस संसदीय दलसँग छलफल गरेको थियो । उक्त छलफलमा दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएका थिए ।

गत फागुन १० गते ६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि अलमलमा रहेको भन्दै प्रदेश १ मा पहिलो पटक सर्वदलीय बैठक भएको थियो । त्यसयता छलफल रोकिएको थियो । बजेट अधिवेशन सुरु भएलगत्तै भने प्रदेश नामाकरणको विषयमा पुनः छलफल अगाडि बढेको छ ।