काठमाडौं-नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले २०४७ सालयता ३५ वर्षको राजनीतिक अवधिमा भएका सबै कामको जिम्मेवारी एमालेले लिन नसक्ने बताएका छन्। उपाध्यक्ष विष्णु पौडेलले उक्त अवधिमा देशमा केही भएन भन्ने भाष्य निर्माण गरेर सबै दोष एमालेमाथि थोपर्ने प्रयास भइरहेको भन्दै त्यसको प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
मंसिर २ गते बुधबार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलामा प्रतिवेदन प्रस्तुत गर्दै उपाध्यक्ष पौडेलले एमालेले आफ्नो नेतृत्वमा बनेका सरकार र संयुक्त सरकारका अवधिमा भएका कामको मात्रै जिम्मेवारी लिने बताए।
उपाध्यक्ष पौडेलले भने, ‘२०४७ सालदेखि यता समयावधि गणना गर्दा ३५ वर्ष भयो होला। तर यो ३५ वर्षको जिम्मा एमालेले लिँदैन। एमालेले आफ्नो नेतृत्वमा बहुमतको सरकारको नेतृत्व गर्दा भएका कामहरूको जिम्मा लिन्छ। अल्पमतको सरकारको नेतृत्व गरेको बेलाको कामको जिम्मा लिन्छ।’
उपाध्यक्ष पौडेलले एमालेले आफ्नै नेतृत्वमा बनेका सरकार, संयुक्त सरकारको नेतृत्व तथा अन्य दलको नेतृत्वमा सरकारमा सहभागी हुँदा गरेको योगदानको निश्चित हिस्सासम्म जिम्मेवारी लिने स्पष्ट पारे।
‘अरू दलहरूको नेतृत्वमा सहभागी भएको छ भने त्यसको पनि निश्चित हिस्सासम्म जिम्मेवारी लिन्छ। ३५ वर्षको समग्र जिम्मेवारी नेकपा एमालेले लिँदैन, लिनुपर्दैन। ३५ वर्षको समग्र जिम्मेवारी एमालेको टाउकोमा थोपर्ने प्रचार हुने गरेको छ, यो प्रचार प्रायोजित प्रचार हो, हामीले प्रतिवाद गर्नुपर्छ,’ उपाध्यक्ष पौडेलले भने।
उपाध्यक्ष पौडेलका अनुसार एमालेले २०५२/५३ मा नौ महिना सरकारको नेतृत्व गरेको थियो भने २०७४ को निर्वाचनपछि बहुमतको सरकारको नेतृत्व करिब तीन वर्ष गरेको थियो। त्यस्तै, एमालेको नेतृत्वमा अन्य दल सहभागी सरकारको नेतृत्व करिब तीन वर्ष छ महिना र अन्य दलको नेतृत्वमा रहेको सरकारमा एमाले करिब पाँच वर्ष सहभागी भएको उनले बताए।
यी सबै अवधि जोड्दा एमाले करिब १२ वर्ष सरकारको नेतृत्व वा सहभागितामा रहेको पौडेलको भनाइ छ। उनले यही अवधिमा भएका काम र तिनका परिणामको जिम्मेवारी मात्रै एमालेले लिने बताए।



प्रतिक्रिया