अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीएण्डसी र नोबेल मेडिकललाई स्वास्थ्य बीमा कार्यक्रमको अर्बौ भुक्तानी सरकारले गरेन

बीएण्डसी र नोबेल मेडिकललाई स्वास्थ्य बीमा कार्यक्रमको अर्बौ भुक्तानी सरकारले गरेन


काठमाडौं – पूर्वमा सञ्चालित मेडिकल कलेजहरूले बिरामीलाई उपचार गरेबापत सरकारले दिने स्वास्थ्य बिमाको रकम नपाएको खुलेको छ । बिमा बापतको अबौं भुक्तानी नपाउनेमा झापाको बी एण्ड सी र नेबेल मेडिकल कलेज छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसका सञ्चालकहरूले यस्तो खुलासा गर्नुभएको हो । सरकारले ५ वर्षअघि सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो । यस योजना अन्तर्गत एउटा परिवारले ३ हजार ५०० रुपैयाँको स्वास्थ्य बीमा गरेपछि उक्त परिवारको ५ जना सदस्यको बीमा हुन्छ ।

योजनाको सुरुवातमा सरकारले पूर्वको झापा जिल्लाबाट यस कार्यक्रम अघि बढाएको थियो । हाल देशभरका ७२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । यसमध्ये झापा जिल्लामा मात्रै करिब ७ लाख हाराहारी स्वास्थ्य बीमा कार्यक्रममा जोडिएको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बताउनुभयो ।

यस योजनामार्फत बीमा गरेका बिरामी अस्पतालमा आएर उपचार गरेबापत सरकारले दिनुपर्ने बीमा बापतको रकम नपाएको उहाँहरूको गुनासो छ । बीएण्डसी यस स्वास्थ्य बीमा योजनामा विगत २ वर्षदेखि जोडिएर बिरामीलाई सेवा दिइरहेको प्रसाईले बताउनुभयो । ‘स्वास्थ्य बीमा कार्यक्रममा जोडिएर बीमा गरेका दैनिक १ हजार जना बिरामी अस्पताल आउँछन्,’ उहाँले भन्नुभयो, ‘यी सबैलाई हामी उपचार गरेर पठाउँछौं । तर, उपचार गरेबापत राज्यले दिनुपर्ने रकम हामीलाई दिएको छैन ।’

स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका बिरामीलाई उपचार गरेबापत बीएण्डसीलाई मात्रै सरकारले ४५ करोडभन्दा बढी रकम दिन बाँकी रहेको दाबी प्रसाईंको छ । यस्तै, नोबेल मेडिकल कलेजले यस कार्यक्रममा जोडिएका बिरामीलाई उपचार गरेबापत ५४ करोडभन्दा धेरै रकम लिन बाँकी रहेको दाबी गरेको छ । यस्तै, बिराट मेडिकल कलेजले समेत सोही रकम बराबरको रकम लिन बाँकी रहेको बताइएको छ ।

यही असार २० गतेसम्म उक्त रकम भुक्तानी नभएमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रहेर आउने बिरामीको उपचार नगर्ने मेकिडल कलेजहरूले बताएका छन् । यसमा बीएमसी र नोबेल मेडिकल कलेज रहेका छन् ।