अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको गृह जिल्ला झापामा एमालेबाट को-को हुँदैछन् उम्मेदवार ?

अध्यक्ष ओलीको गृह जिल्ला झापामा एमालेबाट को-को हुँदैछन् उम्मेदवार ?


गठबन्धनलाई ताेडेर एमालेले पाँचवटै निर्वाचन क्षेत्र जितेर झापालाई यसपाली लालकिल्ला बनाउने लक्ष्य लिएको छ ।

झापा – निर्वाचन आयोगले असोज २३ गते संघीय र प्रदेशसभाको निर्वाचनका लागि मनोनयन दर्ताको म्याद तोकेपछि देशैभरि उम्मेद्वारको चर्चा सुरू भएको छ । त्यसमा पनि कतिपयले स्वघोषणा गर्न थालेका छन् । कतिपयले निकटहरूबाट उम्मेद्वारी घोषणा गराएर आफ्नो तौल जाँच्न थालेका छन् भने कतिपयले पार्टी नेतृत्वसँग आफ्नो योगदानको गुणगान गाउन सुरू गरेका छन् ।
यस्तै माहोलाका बीचमा सर्वाधिक चासोको रूपमा रहेको राजनीतिक रूपमा अग्रणी जिल्ला झापामा एमालेले कसकसलाई उम्मेद्वार बनाउला भनेर व्यापक चर्चा सुरू भएको छ । दुईसाता अघि अध्यक्ष केपी शर्मा ओलीले झापा भ्रमणका बेला ‘झापा जिल्ला, लाल किल्ला’ बनाउनु पर्दछ भनेर उद्घोष गरिसक्नुभएको छ । त्यसले गर्दा जिल्ला नेतृत्वलाई जसरी पनि झापाका पाँचै क्षेत्रमा आफ्ना उम्मेद्वारलाई जिताउनै पर्ने बाध्यता र दबाब छ ।
अघिल्लो निर्वाचनमा अध्यक्ष ओलीसहित सूर्य चिन्हवाहक तीनजना उम्मेद्वार झापाबाट विजयी बनेका थिए । त्यसबेला क्षेत्र नं. १ माओवादीलाई र क्षेत्र नं. ३ राप्रपालाई एमालेले छोडेको थियो । यसपटक गठबन्धन होला नहोला अहिलेसम्म कुनै टुंगो छैन । त्यसैले पाँचवटै क्षेत्रमा एमालेका एकल उम्मेद्वारहरू मैदानमा आफूलाई देखाउन थालेका छन् । देशैभरिको सर्वाधिक चासो पूर्वक हेरिएको झापा क्षेत्र नं. ५ अर्थात् केपी शर्मा ओलीको निर्वाचन क्षेत्र । यस क्षेत्रका मतदातालाई हिनताबोध गराउन वा ओलीको पक्षमा भएका संगठित मतदातालाई तितरबितर बनाउन केहीले ओलीले क्षेत्र परिवर्तन गर्ने अफवाह समेत फैलाएका थिए । तर गत हप्ता दमकमा तीन दिन अध्यक्ष ओली बसेर आम कार्यकर्ता भेट गरेपछि ओलीले निर्वाचन क्षेत्र फेर्ने भ्रमको पर्दा च्यातिएको छ ।
त्यसो भए अब झापाका अन्य क्षेत्रमा को-को उम्मेद्वार बन्दैछन् त ? सबैको चासोको विषय भएको छ । झापाले कसरी उम्मेद्वार चयन गर्छ त्यसको सिको छिमेकी जिल्ला पनि गर्ने भएकोले पनि यहाँको उम्मेद्वार चयनलाई बढी चासोका रुपमा हेरिने गरेको छ। पार्टी स्रोतका अनुसार क्षेत्र नं. ५ मा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एकल उम्मेद्वारी सबैको चाहना छ । यो क्षेत्र झापाको पश्चिमी दक्षिण भेगमा रहेको छ । यहाँ दमक र गौरादह नगरपालिका सहित कमल र गौरीगञ्ज गाउँपालिका पर्दछन्।
झापाको क्षेत्र नं. ४ बाट हालका सांसद एलपी (लालप्रसाद) सावाँको पनि एकल उम्मेद्वारी निश्चित छ । सावाँ बाहेकका उम्मेद्वारले यो क्षेत्रबाट चुनाव जित्न मुस्किल हुने ठहर पार्टीले गरेको छ । २०७४ सालको निर्वाचनमा पनि साँवाको एकल उम्मेद्वारी सिफारिस भएको थियो । २०७० सालमा पहिलो पटक निर्वाचनमा भिडेका साँवा त्यसबेला कांग्रेस नेता केशव कुमार बुढाथोकीसँग पराजित हुनु भएको थियो । पार्टीका प्रदेश नं. १ का इन्चार्ज देवराज घिमिरेका अनुसार अन्य केही कमरेडहरूले उम्मेद्वार हुने इच्छा गरेपनि झापा क्षेत्र नं. ४ मा एलपिको विकल्प देखिएको छैन । अर्कातिर पार्टीको १० औं महाधिवेशनमा जम्बो केन्द्रीय कमिटी गठन हुँदा पनि एलपी छुटेकोले त्यसको क्षतिपूर्तीको रुपमा पनि पार्टीले एलपीलाई टिकट दिने नेताहरु बताउछन् ।
एमालेका लागि सधैं गुमेको नेपालकै होचो भूमि केचनाकवल भएको क्षेत्र नं. ३ मा यसपाली एमालेले आफ्नो साख फर्काउने तयारी गर्दैछ । त्यसका लागि मेडिकल व्यावसायी एवं एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको नाम चर्चामा छ । प्रसाईले करीब एक वर्षअघि देखि नै यस क्षेत्रमा आफ्नो प्रभाव विस्तारका लागि विभिन्न योजना लैजाने र मानवीय सेवाका काममा लागि रहनुभएको छ । तर यसै क्षेत्रमा पार्टी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य हरी राजवंसीको पनि उम्मेद्वार हुने चर्चा छ ।
एमालेका लागि सबभन्दा पेचिलो क्षेत्र नं. २ हुने देखिएको छ । झापाको मुख्य बजार विर्तामोड भएको यो क्षेत्रमा एमालेको पकड पनि राम्रो छ । स्थानीय तहको निर्वाचनको परिणामपछि एमालेजनहरू झन् उत्साहित भएका छन् । यहाँ दुई ‘हेविवेट’ उम्मेद्वारको दाबी छ । जसमा स्थायी कमिटी सदस्य एवं प्रदेश नं. १ का इन्चार्ज देवराज घिमिरे र स्थायी कमिटी सदस्य एवं झापा इन्चार्ज अग्नी खरेल प्रतिष्पर्धामा हुनुहुन्छ । खरेल गतवर्ष देखि झापा २ लाई कर्मथलो बनाएर सक्रिय हुनुहुन्छ भने घिमिरे यहाँका पुराना बासिन्दा हुनुहुन्छ । दुवैको अध्यक्ष ओलीसँगै घनिष्ट सम्बन्ध भएकोले एमालेमा टिकट टुंग्याउन यो क्षेत्र निकै पेचिलो हुने देखिन्छ । यो क्षेत्रमा हालकी सांसद पवित्रा निरौला खरेलको पनि दाबी छ । यसैगरी अर्का नेता चिन्तन पाठकले दाबी गर्नुभएको छ ।
नेपालको पूर्वी सिमाना काकरभिट्टा रहेको झापाको क्षेत्र नं. १ अर्को महाभिडन्त हुने निर्वाचन क्षेत्र हो । यहाँ दुई पटक चुनाव हारेर पनि प्रयास जारी राखेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई एमालेका उम्मेद्वारले हराउनु पर्ने हुन्छ। यो गहन जिम्मेवारी लिन एमालेमा केन्द्रीय सदस्य रविन कोइराला तत्पर देखिनुहुन्छ । तर हालका प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली पनि विश्वप्रकाशका लागि आफू नै काफी हुने भन्दै टिकटको लविङमा हुनुहुन्छ । कोइरालाले २०७० सालको संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट चुनाव जित्नु भएको थियो ।
निर्वाचन नजिकिदै जाँदा यस क्षेत्रमा एमालेले अप्रत्यासित निर्णय गर्न सक्ने आकंलन पनि गरिएका छन् । एमालेका दुईजना ‘हाइप्रोफाइल’ले झापा क्षेत्र नं. १ लाई नजिकबाट नियालिरहेको बालकोटतिर चर्चामा रहेको नेताहरुको भनाइ छ ।
एमालेले यस पटक समयमै टिकटको टुंगो लगाएर उम्मेद्वारहरुलाई मैदानमा पठाउने तयारी गरेको छ । त्यसका लागि अबको केही दिनमै पार्टी केन्द्रीय सचिवालयल,स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठकको गृहकार्य भइरहेको केन्द्रीय कार्यलयले जनाएको छ ।