काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाका अग्रज नेता, संविधानसभा सदस्य तथा पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सदस्य छोवाङ तेञ्जेन तामाङको निधनप्रति दुःख व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले आइतबार शोक वक्तव्य जारी गर्दै तामाङको असामयिक निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन्।
विसं २०१७ जेठ ७ गते रसुवाको धुन्चेमा जन्मिएका तामाङ विसं २०४६ देखि राजनीतिमा सक्रिय थिए। उनले विसं २०५२ मा नेकपा (एमाले) को सदस्यता प्राप्त गरेका थिए। एमाले रसुवाका संस्थापक जिल्ला कमिटी सदस्य रहेका तामाङले विसं २०६५ देखि २०७२ सम्म जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
विसं २०५४ मा सम्पन्न स्थानीय निर्वाचनमा धुन्चे गाविसको अध्यक्षमा निर्विरोध निर्वाचित भएका तामाङ विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
ओलीले लोकतान्त्रिक आन्दोलन, पार्टी निर्माण तथा रसुवा जिल्लाको राजनीतिक, सामाजिक र समग्र विकासमा तामाङले पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताएका छन्। उनको निधनबाट पार्टीले एक निष्ठावान्, अनुभवी र समर्पित नेता गुमाएको पनि उनले उल्लेख गरेका छन्।
ओलीले दिवङ्गत तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा पार्टीका सम्पूर्ण पङ्क्तिमा गहिरो समवेदना व्यक्त गरेका छन्।




प्रतिक्रिया