अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारामा प्रहरीको गोली लागेर घाइते किशोरलाई उपचारका लागि काठमाडौं ल्याइयो

बारामा प्रहरीको गोली लागेर घाइते किशोरलाई उपचारका लागि काठमाडौं ल्याइयो


काठमाडौं-बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर घाइते भएका करिब १६ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

शनिबार अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर पासवान घाइते भएका थिए। उनलाई सुरुमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरी उपचार गरिएको थियो।

नेशनल मेडिकल कलेजले थप उपचारका लागि रिफर गरेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले रातोपाटीलाई जानकारी दिए ।

नेशनल मेडिकल कलेजका पेडियाट्रिक सर्जन डा. विनोदकुमार रायसहितको चिकित्सकीय टोलीले शल्यक्रिया गरी पासवानको तिघ्राबाट गोली निकालेको थियो । काठमाडौं ल्याइएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

सङ्घीय सरकारको अनुदानमा निर्माण गरिएको १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर भएको झडपका क्रममा पासवान घाइते भएका थिए ।

घटनाको छानबिनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रभु ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई घटनाको वास्तविकता पत्ता लगाई आवश्यक अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ ।