अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आठराई त्रिवेणीमा सातजना विद्यार्थीले पाए उच्च शिक्षा अध्ययनको छात्रवृति

आठराई त्रिवेणीमा सातजना विद्यार्थीले पाए उच्च शिक्षा अध्ययनको छात्रवृति


ताप्लेजुङ – ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा कक्षा-११ र १२ निःशुल्क रुपमा अध्ययन गर्न पाइने भएको छ।

गाउँपालिकाले पालिकाभरिका सातजना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृतिको समेत व्यवस्था गरेको छ । कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीको शुल्क आफूले व्यहोर्न थालेको छ। गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोम (दीपेन) का अनुसार पालिका भित्र कक्षा ११ र १२ पढाई हुने तीनवटा विद्यालय रहेका छन्।

सरस्वती माध्यमिक विद्यालय हाङ्पाङ, दुर्गा मावि फुलवारी र चाँगे मावि चाँगेमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीले तिर्नुपर्ने सबै शुल्क गाउँपालिकाले व्यहोर्ने पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले विद्यार्थीले तिनुपर्ने शुल्क बापतको रकम सम्बन्धित विद्यालयलाई निकासा गरिसकेका छौँ । यो शुल्क बापत गाउँपालिकाले सरस्वती मावि हाङपाङ र दुर्गा मावि फुलवारीलाई ६–६ लाख र चाँगे माविलाई ४ लाख रुपैँया भुक्तानी गरेको छ।’

विद्यार्थी संख्याका आधारमा शुल्क वापतको रकम सम्बन्धित विद्यार्थीलाई हस्तान्तरण हुने पालिका अध्यक्ष पोमूले बताउनुभयो ।

अध्यक्षका अनुसार सरस्वती मावि हाङपाङमा कक्षा ११ मा ५८ र १२ मा ३७ जना विद्यार्थी अध्ययन गर्छन्। यस्तै दुर्गा मावि फुलवारीमा कक्षा ११ मा ६१ र १२ मा ४८ जना तथा चाँगे माविमा कक्षा ११ मा ४१ र १२ मा ३५ जना विद्यार्थी रहेका छन् ।

पालिकाले ती विद्यार्थीका लागि पाठ्यपुस्तक शुल्क समेत व्यहोर्ने गरेको जनाएको छ । कक्षा ११ र १२ का विद्यार्थीको पाठ्यपुस्तक शुल्क बापत सरस्वती मावि हाङपाङलाई क्रमशः१८ हजार १ सय ३० र १४ हजार ८ सय ९९ रुपैँया भुक्तानी गरिएको छ। 

यस्तै दुर्गा मावि फुलवारीका कक्षा ११ का विद्यार्थीको पाठ्यपुस्तक बापत १६ हजार ५०६ र कक्षा १२ को पाठ्यपुस्तक बापत १५ हजार ५४७ रुपैँया भुक्तानी भएको छ । यस्तै चाँगे माविका कक्षा ११ अध्ययन गर्ने विद्यार्थीको पाठ्यपुस्तक शुल्क वापत १८ हजार १३० र कक्षा १२ को पाठ्यपुस्तक शुल्क बापत १४ हजार ८९९ रुपैँया भुक्तानी भएको पालिकाले जनाएको छ । चालू वर्ष भित्रै निघुरादिनस्थित परमसिंह माविमा समेत कक्षा ११ र १२ को पढाइ सुरु गर्ने योजना रहेको र सुरु भए त्यहाँ अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीको अध्ययन शुल्क र पाठ्यपुस्तक बापतको रकम पालिकाले व्यहोर्ने अध्यक्ष पोमूले बताउनु भयो ।