काठमाडौं-प्रहरी नियन्त्रणमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षण तथा जीवन सुरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।
सापकोटाको तर्फबाट उनकी पत्नी कविता पाण्डेले शुक्रबार आयोगमा चार पृष्ठ लामो निवेदन दर्ता गराएकी हुन्। निवेदनमा सापकोटालाई गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राखिएको, मानसिक यातना दिइएको र आफूले नगरेका काम तथा नचिनेका व्यक्तिबारे बयान दिन दबाब दिइएको दाबी गरिएको छ।
निवेदनअनुसार सापकोटालाई असोज १४ गते भारतको नयाँदिल्ली जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो। त्यसपछि आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको र विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब तथा धम्की दिइएको आरोप लगाइएको छ।
बयान दिन अस्वीकार गरेपछि आफूलाई झुटा मुद्दामा फसाउने धम्की दिइएको, परिवारसमेतलाई असर पर्ने चेतावनी दिइएको र जबर्जस्ती बयान तथा कागजातमा हस्ताक्षर गराउन खोजिएको निवेदनमा उल्लेख छ।
त्यस्तै, घरमा खानतलासीका क्रममा विदेशी मुद्रा बरामद भएको विषय, मोबाइल फोनको प्रयोग, अनुसन्धानका सामग्री सार्वजनिक गरिएको तथा सञ्चारमाध्यममा आफूलाई विभिन्न आरोपसहित प्रस्तुत गरिएको विषयमा पनि निवेदनमार्फत प्रश्न उठाइएको छ।
सापकोटाले आफू र परिवारको जीवन सुरक्षा, घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाही तथा आफ्नो गोपनीयता र मौलिक हकको संरक्षण गर्न आयोगसँग माग गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले निवेदन दर्ता भएको पुष्टि गर्दै कार्यालय खुलेपछि अध्ययन गरी आयोगको क्षेत्राधिकारभित्र पर्ने विषय भए आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन् ।



प्रतिक्रिया