काठमाडौं-जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा बिचौलियाको भूमिका निर्वाह गर्ने गरेको गुनासो आएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ घर भई सोही स्थानमा बस्ने ५० वर्षीय गोपालबहादुर विष्ट र स्याङ्जाको भिरकोट नगरपालिका–५ घर भई काठमाडौंको सानो भर्याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल रहेका छन्।
त्यसैगरी काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ घर भई काठमाडौंको शंखमूल बस्ने ५७ वर्षीय स्वयम् कृष्ण निरौला पनि नियन्त्रणमा परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया