अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देखि प्लास्टिकको झोला प्रयोग गर्न नपाइने

आज देखि प्लास्टिकको झोला प्रयोग गर्न नपाइने


काठमाडौ- सरकारले आज देखि प्लाष्टिकका झोला प्रयोग गर्न रोक लगाएको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमार्फत नै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । वन तथा वातावरण मन्त्रालयले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात र बिक्री वितरण तथा प्रयोगमा लागेको प्रतिबन्ध कडाईका साथ पालना गर्न सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।
वातावरण विभागले सूचना जारी गरी निर्णयविपरीत कार्य गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको प्रयोगले वातावरणमा अन्त्यन्त प्रतिकुल प्रभाव पारेको, यस्तो झोलाको प्रयोगपछि जथाभाबी फाल्ने गर्दा खोला तथा नदीहरु प्रदूषित भएको र ढल तथा पानीको निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा उत्पन्न भएको वातावरण विभागको ठहर छ ।

वातावरणमा संवेदनशील प्रभाव पार्ने प्लाष्टिकका झोला प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि मन्त्रिपरिषद्को ०७८ माघ १७ गते बसेको बैठकले प्लाष्टिकको झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेको समेत विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड १९ को प्रकोपका कारण केही समय अनुगमन खुकुलो भएको जनाएको छ । सोही मौकामा ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा वृद्धि भएको अनुभव गरिएको विभागले जनाएको छ ।

वातावरणीय दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको नेपाल सरकारको प्लाष्टिक झोला प्रतिबन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाइका साथ लागू गर्ने भएकोले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन विभागले आग्रह गरेको छ । भदौं १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई थप कडाइका साथ अनुगमन गरिने जानकारी पनि विभागले दिएको छ ।

अनुगमनको समयमा नेपाल सरकारको निर्णयविपरीतका कार्य भएको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही गरिने चेतावनी विभागले दिएको छ ।