अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्रोत नखुलेको ६९ लाख रकमसहित तीन पक्राउ

स्रोत नखुलेको ६९ लाख रकमसहित तीन पक्राउ


काठमाडौं – नेपाल प्रहरीले स्रोत नखुलेको रु.६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौँ मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा घर भई काठमाडौँको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाडौँको टेकु बस्ने ३३ वर्षीय अङ्कित गोयन्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले गैरकानुनीरूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आएका उनीहरुलाई काठमाडौँको घण्टाघर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२८ घण्टाघरस्थित जामे मार्केट भवनमा सटर भाडामा लिई श्रेष्ठले सञ्चालन गरेको सन्जोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम र हुण्डीको भुक्तानी गर्न आएका अङ्कित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले गोयन्काले कलङ्कीमा सञ्चालन गरेको आनी इन्टरनेशनलको कार्यालयबाट थप रु.नौ लाख बरामद गरेको छ । यस्तै, फास्ट ट्रयाक इन्टरनेशनल प्रालिको नाममा काटिएको सानिमा बैंकको रु.१५ लाख बराबरको चेकसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सूचना अधिकृत कोइरालाले बताउनुभयो ।