बर्दिबास–नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मतदान गरेका नागरिकले आफ्नो मतको परिणामप्रति असन्तुष्टि जनाउन थालेको दाबी गरेका छन्। उनले रास्वपाप्रति जनताको बुझाइ बदलिँदै गएको टिप्पणी गरेका छन्।
महोत्तरीको बर्दिबासमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले सरकारको कार्यशैली अलोकतान्त्रिक रहेको आरोप लगाए। बौद्धिक समुदायले सरकारको कार्यशैली बुझिसकेको उल्लेख गर्दै संयोजक प्रचण्डले रास्वपालाई दिएको मत खेर गएको महसुस गर्न थालेको दाबी गरे।
संयोजक प्रचण्डले भने, ‘आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेका छन्। बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके, हावामा भोट हालिएछ, हुरी बतास मात्रै रहेछ यो भनेर। तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ। त्यो काम चाहिँ हामी गर्छौँ।’
प्रचण्डले पार्टीको जागरण अभियानमार्फत गाउँगाउँसम्म पुगेर सरकारका अलोकतान्त्रिक गतिविधिको भण्डाफोर गर्ने बताए। सरकारका कामकारबाहीबारे जनतालाई सचेत गराउने अभियान सञ्चालन गरिने उनको भनाइ छ।
सरकारविरुद्ध आन्दोलन गर्ने विषयमा पनि पार्टीले तयारी गरिरहेको उनले जानकारी दिए। आन्दोलनको स्वरूप र समय भने तत्कालीन राजनीतिक परिस्थितिअनुसार तय गरिने उनले बताए।
यसैगरी, मधेस प्रदेश सरकारको स्थायित्वका लागि लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूसँग सघन छलफल भइरहेको प्रचण्डले बताए। यस विषयमा चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ छ।



प्रतिक्रिया