अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले प्रतिनिधि ६० र प्रदेशसभामा १२० सिट दाबी गर्छ : अध्यक्ष प्रचण्ड

माओवादीले प्रतिनिधि ६० र प्रदेशसभामा १२० सिट दाबी गर्छ : अध्यक्ष प्रचण्ड


काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी प्रतिनिधिसभा चुनावमा गठबन्धनमा ६० सिट दाबी गर्ने बताउनु भएको छ ।

माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा आज आयोजित वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रममा उहाँले माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ६० सिट र प्रदेशसभा सदस्यमा १२० सिट दाबी गर्ने बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी प्रत्यक्षमा प्रतिनिधिसभामा ६० सिट भन्दा घट्न सकिँदैन, त्यस्तै १२० प्रदेशसभामा हाम्रो दाबी रहन्छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धनभित्रको सिट बाँडफाँट बुधबारसम्म टुंगो लगाउँछौं ।’

अध्यक्ष प्रचण्डले गठबन्धनभित्र पहिलो चरणमा दलहरुले पाउने सिट संख्या टुंग्याउने र त्यसपछि कुन ठाउँमा कुन सिट कसले पाउने भन्ने निर्धारण गरिने बताउनु भयो । उहाँले यही २० गतेसम्म सिट बाँडफाँट टुंगिने दाबी पनि गर्नुभयो ।

‘यहि २० गतेसम्म हामी सिट बाँडफाँट टुंग्याउछौँ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘भदौ २५ गतेभित्र हामी प्रत्यक्षतर्फ उठ्ने उम्मेदवारको टुंगो लगाउने छौँ।’

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा काठमाडौंका मेयर बालेन शाहजस्तै चमत्कार देखाउने नयाँ अनुहारलाई पार्टीबाट चुनावी मैदानमा पठाउनुपर्ने बताउनु भएको छ ।

‘काठमाडौँ, भक्तपुर र ललितपुरमा हाम्रो स्थिति नाजुक छ, बागमती प्रदेशमा होइन, बागमतीमा माओवादी कम्युनिष्ट आन्दोलनको पहिलो शक्ति हो’, उहाँले भन्नुभयो, “उपत्यकाको सङ्गठनको संरचना र केही नीतिगत विषयमा नयाँ ढङ्गबाट नीतिगत र संरचनागतरूपमा नयाँ पार्टी बनाउनुपर्ने भएको छ ।‘

नीतिगत र संरचनागत रूपले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले गैरभौगोलिक प्रदेशका नेता तथा कार्यकर्तालाई उपत्यकामा पार्टी विस्तार अभियानमा संलग्न गराइने बताउनुभयो ।