अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा- १ मा विश्वप्रकाशको ‘वान साइडेड लभ’ अब ‘ब्रेक’तिर

झापा- १ मा विश्वप्रकाशको ‘वान साइडेड लभ’ अब ‘ब्रेक’तिर


झापा- नेपाली काँग्रेसको राजनीतिमा आशाको किरणका रुपमा उदाएका महामन्त्री विश्वप्रकाश शर्माको संसदीय राजनीतिमा भने बादल मडारिएको छ । प्रखर वक्ता,विपक्षीलाई सालिन ढंगले मुटु मै प्रहार गर्न सक्ने क्षमतामा शर्मा पक्ष प्रतिपक्ष सबैसँग उत्तिकै मिलनसार पनि मानिनुहुन्छ । राजनीतिका उत्कृष्ट खेलाडी कै रुपमा रहेका शर्माको संसदीय खेलचाँही झुर हुने निश्चित जस्तै छ ।
झापाको मेचीनगर नगरपालिका घर भएका शर्माले क्षेत्र नं १ बाट चुनाव लड्ने र जित्ने जुन उच्च आत्मबलले उद्घोष गरिरहनु भएको थियो ,हिजोको आफ्नै अभिव्यक्तिले त्यसलाई कमजोर पारेको छ । कतिपयले काठमाडौंको कुनै क्षेत्रमा उम्मेद्वार हुने हल्ला चलेको प्रसंग कोट्याउदा शर्माले सामाजिक सञ्जालमा झापा १ छोडेर अन्त नजाने कुरालाई मिठासपूर्ण ढंगले यसरी अभिव्यक्त गर्नुभएको थियो ‘ मेरो माया एकातिर बिवाह अर्कातिर हुदैन ।’ तर दुखको कुरा विश्वप्रकाशको माया ‘वा साइडेड लभ’ मा परिणत हुने बाटोतिर लागेको छ । जुन कुरा हिजो झापामा आयोजित एउटा कार्यक्रममा उहाँले आफैं व्यक्त गर्नुभयो ।
विर्तामोडमा आयोजित कार्यक्रममा शर्माले भन्नुभयो ‘गठबन्धन भए झापा १ माओवादीलाई पर्ला तर यो क्षेत्र छोडेर अन्तबाट चुनाव लड्दिन ।’
हिजोको विश्वप्रकाशको यो भनाइले उहाँ निकटस्थ झापालीहरुलाई निराश बनाएको छ । स्थानीय तहको निर्वाचनमा आफ्नै नगरमा आफू निकटलाई मेयरको टिकट दिलाउन हम्मेहम्मे भोगेका शर्माले संसदीय निर्वाचनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको दिवार छिचोलेर टिकट ल्याउन सहज देखिदैन । इत्तर खेमा रहेका शर्मालाई देउवालाई पटक पटक पाखा लगाउन खोजेको सहजै बुझ्न सकिन्छ । त्यसका लागि देउवाले शर्मालाई टिकट नदिने निर्णय गर्ने छैनन् । बरु झापा १ नै माओवादीलाई सुम्पने छन् । ‘काग भन्दा कोइली चंख जस्ता देउवालाई कसैले सिकाइरहनु पर्दैन’ देउवा निकट एक नेता भन्छन् ‘ झापा १ काँग्रेसले लिएर विश्वलाई टिकट नदिंदा पार्टी भित्र राम्रो सन्देश जादैन तर उक्त क्षेत्र नै माओवादीलाई जिम्मा लगाइदिए लेठै साफ ।’
करिब महिना दिन अघि देखि नै चुनावको आन्तरिक तयारीमा लागेका शर्माले आफू निकटहरुसँग भन्ने गर्नुभएको थियो ‘राजनीति गर्ने मान्छेले चुनावबाट भागेर हुदैन । यो पटक अन्तिम पटक लड्छु । हारे भने जनाले मलाई रुचाएनन् भनेर चित्त बुझाउछु । तर चुनावको तयारीमा व्यापक रुपमा सबै जुटौं । ’
झापा १ माओवादीलाई दिने प्रधानमन्त्री देउवाको चाल बुझेपछि शर्माको टोन क्रमश बदलिएको उनी निकटहरुले नै बताउने गरेका छन् । यस पटक जसरी पनि चुनाव लड्ने उद्घोष गरेका शर्मा पछिल्ला दिनमा ‘देशव्यापी चुनाव हाँक्ने जिम्मेवारी आउला जस्तो छ ’ भन्ने गर्नु भएको छ । ‘यसको अर्थ विश्वप्रकाशले प्रत्यक्ष निर्वाचन छोडेर समानुपातिक प्रतिनिधित्व रोजेको बुझ्न कठिन छैन । ’
हिजो झापाको एक अनलाइनको शुभारम्भ कार्यक्रममा बोल्दै शर्माले गठबन्धन भए झापा १ माओवादीको भागमा पर्ने नत्र त आफैं चुनाव लड्थे भन्ने आशयको रक्षात्मक अभिव्यक्ति दिनुभयो ।
सत्ता गठबन्धनले सम्भवत आज सिटको बाँडफाँड टुंग्याउदैछ । उसले बनाएको क्राइटेरिया अनुसार पहिले जुन पार्टीले जितेको हो त्यही पार्टीलाई उक्त क्षेत्र दिने नीति हुँदा माओवादीको भाग झापा १ पर्दछ । तर हक्की स्वभावका विश्वप्रकाशले आफ्नो राजनीतिक भविष्यका लागि आफ्नो गृह क्षेत्र पराइलाई सुम्पिंदा पनि पार्टी नेतृत्वसँग कुनै बलजफ्ती गर्न सकेको देखिएन । त्यसैले गर्दा झापा १ को विश्वप्रकाशको ‘वान साइडेड लभ’ पनि अब ‘ब्रेक’को विन्दुमा पुगेको अनुमान गर्न धेरै गाह्रो छैन ।

Skip This