‘यो गठबन्धन आफैं बनेको होइन अरु कसैले टाउको जोडिदिएको हो । उनीहरु आफैं जुटेका पनि होइन आफैं फुट्दैनन् ।’
कञ्चनपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला राष्ट्रियताको सवाल उठाउन नसकेको आरोप लगाउनु भएको छ ।
महाकालीमा एसएसबीले तुइन चुटाएर नेपालीको हत्या गर्दा पनि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न नसकेको अध्यक्ष ओलीले आरोप लगाउनु भयो ।

लिम्पियाधुरा लिपुलेक र कालापानीको सवालमा पनि प्रधानमन्त्री देउवाले कुरा उठाउन नसकेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवालमा कुरा गर्न सक्नु भएन । प्रधानमन्त्री देउवा भारत भ्रमणमा म्याउँम्याउँ गर्नुभयो।’
गठबन्धन तत्काल टुट्ने अवस्था नरहेकोसमेत ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो गठबन्धन आफैं बनेको होइन अरु कसैले टाउको जोडिदिएको हो । उनीहरु आफैं जुटेका पनि होइन आफैं फुट्दैनन् ।’
गठबन्धनको फूर्ति मंसिर ४ सम्म मात्र रहेको ओलीले टिप्पणी गर्नुभयो । माथिका नेता गठबन्धनमा मस्त रहेको भन्दै ओलीले बताउनु भयो ।
गठबन्धनका पूर्वमन्त्रीसहितका नेताहरूलाई एमालेमा स्वागत गर्न कञ्चनपुर पुग्नु भएका अध्यक्ष ओली आजै काठमाडौं फर्किनुहुनेछ ।

प्रतिक्रिया