कञ्चनपुर – नेकपा एकीकृत समाजवादी छोडेर नेकपा एमालेमा फर्किनुभएका निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले अध्यक्ष माधव नेपालप्रति कडा टिप्पणी गर्नुभएको छ ।
एमाले कञ्चनपुरले आज आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै शाहीले एमालेको कुनै कमिटीमा नबस्ने घोषणा पनि गर्नुभयो ।
‘म पार्टीको सदस्य समेत बस्दिनँ, बाहिरै बसेर सहयोग गर्न तयार छु, कुनै पनि कमिटीमा बस्दिनँ,’ उहाँले भन्नुभयो, ‘साथीहरुलाई एमाले फर्काउने अभियानमा लाग्नेछु। कांग्रेस र माओवादी हराउने अभियानमा सक्रिय हुनेछु।’
एकीकृत समाजवादी माग्ने भाडो भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘माधव नेपालजीले पार्टीलाई माग्ने भाडो बनाउनुभयो, उहाँले शेरबहादुर देउवासँग माग्ने भाडो बनाए । जुन उद्देश्यकासाथ पार्टी बन्यो, त्यो गर्न सकेन, पार्टी बनाउनु भन्ने नेताहरुका लागि त्यहाँ ठाउँ रहेनछ।’
अवसरका लागि एमालेमा नफर्किएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘१४ वर्षको उमेरदेखि राजनीतिमा लागेँ, ३४ वर्ष भयो, अहिलेसम्म वडा अध्यक्षसमेत भएको छैन । एमालेमा फर्किनुस् भन्दा अवसरका लागि भनियो। हामी अवसरका लागि एमालेमा फर्किएका होइनौँ।’
प्रतिक्रिया