अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली स्वादमा विदेशी नाटक : ‘बाह्र दुर्बासा’

नेपाली स्वादमा विदेशी नाटक : ‘बाह्र दुर्बासा’


दमक – विश्व प्रशिद्ध अमेरीकी नाटक ‘टुवेल्भ एङ्ग्रीमेन’ को नेपालीकरण ‘बाह्र दुर्बासा’ नाटकले पूर्वी नेपालका रङगमञ्च पारखीहरूको मन जित्दै लगेको छ । झापाको दमकस्थित कदम थिएटरले यो नाटक भदौ १० गतेदेखि मञ्चन गरिरहेको छ । भदौ २६ गतेसम्म दैनिक मञ्चन हुँदै आएको नाटक विद्यार्थी तथा कर्मचारीहरूका लागि लक्षित गरी शुक्रबार र शनिबार दिउँसो समेत देखाइने गरेको नाटकका निर्देशक सिजन दाहालले जानकारी दिनु भयो ।

दमकको वडा-९ स्थित थिएटरको नाटक घर निर्मार्णाधिन स्थलमा बनाइएको अस्थायी टहरालाई नाटक घरको स्वरुप दिएर यो नाटक देखाउन थालिएको हो । यसअघि समेत थिएटरले देखाएका नाटकहरूले दमकमा क्रमिक रूपमा नाटकसँगै श्रीजनशिलताको विकास गर्दै आएको वडा–९ वडाअध्यक्ष कुवेर भट्टराईले जानकारी दिनुभयो ।
रेगाल्ड रोजको कथालाई सुरेश सापकोटाले नेपालीमा अनुवाद गर्नु भएको हो । यस अघि मण्डला थिएटरमा पनि मञ्चन भई सकेको नाटकलाई स्थानीयकरण गरि सिजन दाहालले निर्देशन गर्नु भएको हो ।

नयाँ कलाकारको बाहुल्यता
नाटकमा व्यवसायिक रूपमा कलाकारीतामा अभ्यस्त नभएकाहरू पात्रको रूपमा उभिएका छन् । झापाबासीहरूका लागि दमक नगरपालिकाका पूर्वनगरप्रमुख रोमनाथ ओलीको चरीत्रले ध्यान खिचेको छ । उहाँको अभिनय पनि व्यवसायिक कलाकारहरूको भन्दा कम नदेखिएको नाटक हेरे पछि प्रतिक्रया दिने क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभयो । काठमाडौंको तुलनामा स्रोत–साधन, नाटक घर, बिजुली, सजावट, कलाकार आदिको अभावका बीच पनि उत्कृष्ट नाटक हेर्न पाएको उहाँले बताउनुभयो । चुनावी माहोलको व्यस्त समयमा पनि नाटक हेर्नकै लागि काकडभिट्टा देखि दमकसम्म आएको महामन्त्री शर्माले जनाउनुभयो ।

दशकौं चलचित्रमा खलनायकको अभिनय गरेर स्थापित हुनु भएका हेमन्त बुढाथोकीको कारूणीक दृश्यले नाटकको विट मार्दा धेरैका परेला भिज्ने गरेका छन् । नाटक हेरे पछि अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय अध्यक्ष रञ्जित तामाङले नाटक अवधिभरि आफूलाई पात्र, विषय र प्रस्तुतीले बाँधेर राखेको प्रतिक्रिया दिनुभयो । कलाकार र रंगकर्मीहरूको यो प्रयासलाई स्थाई बनाउन सव ैक्षेत्रबाट सहयोग गर्नुपर्ने र आफुहरूले पनि ध्यान दिने नेताहरू शर्मा तथा तामाङले बताउनुभएको छ । नाटकमा अनुभवि कलाकारहरू जीवन बराल, मौषम राना, सुवाश खरेल, बलु राईसँगै सन्तोष दुलाल, राजेन्द्र अधिकारी, सुमन लिङदेन लगायतको पनि अभिनय छ । यस्तै थिएटरका पूर्णकालिन कलाकारहरू मनिक शंकर, सुजन भण्डारी, नविन रिजाल पनि मञ्चमा उत्रिएका छन् ।

अभाव छिचोल्दै अभ्यास
नाटक घर तथा थिएटरका लागि दमक नगरपालिकाले जमिन उपलव्ध गराएको हो । स्थायी नाटक घर निर्माण शुरू भएर अलपत्र छ । कलाकारहरूनै महिनौ खटिएर अस्थायी संरचना बनाएका छन् । त्यसैमा दिनभरि कलाकारहरू अभ्यास गर्छन् भने साँझमा नाटक देखाउँछन् । हरेक पेशा र क्षेत्रमा संघर्ष, दुःख हुनेनै भएकाले अहिले प्रारम्भिक चरणमा आफुहरूले कुनै दुःख नमानेको नाटक निर्देशक दाहालको भनाई छ । तर तीनै तहका सरकारहरू बीच समन्वय भएमा र स्रोत–साधन प्राप्त भएमा चाँडै निर्माणाधिन संरचना पूरा गर्ने आशा लिएको उहाँले बताउनुभयो ।

निरन्तर नाट्य अभ्यास र प्रस्तुति, कला शिक्षण, आवसीय अभ्यास तथा सुविधा, साहित्यिक एवं श्रृजनशिल गतिविधि गर्ने लक्ष्य सहित थिएटर स्थापना गरिएको कलाकार एवं थिएटरका अध्यक्ष हेमन्त बुढाथोकीले बताउनुभयो ।