अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायालयलाई विवादमा मुछ्नु अनुचित : अध्यक्ष तिमिल्सिना

न्यायालयलाई विवादमा मुछ्नु अनुचित : अध्यक्ष तिमिल्सिना


पर्वत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्नु अनुचित भएको बताउनुभएको छ।

जिल्ला समन्वय समिति पर्वतको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव समयमै टुङ्गो नलगाएर सिङ्गो न्यायलयको गरिमा घटाउने काम भएको बताउनुभयो ।

उहाँले राजनीतिक दलहरुकै कारण न्यायलय विवादमा आएको भन्दै यो लोकतन्त्रका लागि नराम्रो पक्ष भएको बताउनुभयो । “महाअभियोग लागेको प्रधानन्यायधिश म निर्दोश छु भन्दै सर्वोच्चमै काममै फर्किन्छु भन्छ, सरकार अदालत आउन नदिने तयारी गर्छ, यो कस्तो खालको कानुन होे”, तिमिल्सिनाले भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले संसद्को कार्यकालका विषयमा दलहरुबीचको विवादले नागरिकमा नकारात्मक सन्देश गएको बताउनुभयो । उहाँले निर्वाचन आयोगले तोकेको समयावधिमा दलहरुले आ–आफ्नो तर्क गर्नु उचित नहुने भन्दै एउटै संसद्का कोही सांसद कार्यकाल सकिएर निवर्तमान हुने र कोही बहाल वाला हुँ भन्दै झण्डा हल्लाएर हिड्नु जायज नहुने बताउनुभयो ।

अर्को प्रसङ्गमा अध्यक्ष तिमिल्सिनाले निर्वाचन स्वच्छ, स्वन्तन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको छ। आगामी मङ्सिर ४ गतेको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने बताउँदै निष्पक्ष र निर्भयका साथ हुने निर्वाचनबाट मात्रै लोकतन्त्रलाई संस्थागत गर्न सकिने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारीले संविधानको सफल कार्यान्वयन भएमात्र सङ्घीयता सफल हुने बताउनुभयो । संविधानमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै यसको सफल कार्यान्वयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, संविधानसभा सदस्य विकास लम्साल, प्रतिनिधिसभा सदस्य पदम गिरीलगायतले सम्बोधन गर्नुभएको थियो ।