अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता सुरु

प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता सुरु


नयाँ दिल्ली-भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता सुरु भएको छ। आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताजमा प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भइरहेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका हुन्। नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली पुगेका शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले सांस्कृतिक झाँकीसहित स्वागत गरेका थिए।

विमानस्थलबाट प्रधानमन्त्री शाह मर्सिडिज गाडीमा नयाँदिल्लीस्थित होटल ताजमहल पुगेका थिए। त्यहीँ भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरिरहेका छन्।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी तथा सञ्चारकर्मी सहभागी छन्। निजी क्षेत्रबाट ५२ सदस्यीय उद्योगी–व्यवसायीको टोलीसमेत भ्रमणमा सहभागी भएको छ।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। दुई प्रधानमन्त्रीबीच छुट्टै भेटवार्तासमेत हुने कार्यक्रम छ।

वार्ताका क्रममा नेपाल–भारत सम्बन्धको समग्र समीक्षा गर्दै व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ।

भ्रमणका क्रममा दुई देशबीच ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ। त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने तयारी छ।

प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। राष्ट्रपति भवनमा हुने भेटपछि प्रधानमन्त्री शाह सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनेछन्। उनी साँझ ६ः३५ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ।