काठमाडौं-पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ।
दैनिक पाँच घण्टा सवारी साधन रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो। नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्जाभेटर पुर्याइएको थियो। उक्त एक्जाभेटरले आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न सुरु गरेको छ।
करिब सय मिटर अग्लो ठाउँमा एक्जाभेटर पुर्याएर डाँडो काट्न थालिएको निर्माण कम्पनी शर्मा जेडआईसीजी जेभीका इन्जिनियर ईश्वर नेपालले बताए। आइतबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी रोकेर काम गरिएको नेपालले जानकारी दिए। डाँडोबाट तहगत रूपमा कटान गर्दै एक्जाभेटर तल झारिने उनले बताए।
‘डाँडामा अवस्था हेरेर थप उपकरण वा एक्जाभेटर लैजान सकिने देखिएमा सोमबारसम्म अर्को एक्जाभेटर थप्ने योजना छ। सवारी रोकिएकाले यो समयको उपयोग गर्दै घोप्टेभिरको मुग्लिनतर्फ भित्तो काटेर सडक विस्तार गर्न थालिएको छ,’ इन्जिनियर नेपालले भने, ‘यहाँ १५० मिटर लामो भागमा करिब तीन मिटर चौडा गर्नुपर्नेछ।’
उनका अनुसार चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा सडक चौडा गर्न थालिएको छ। यो ठाउँमा सय मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने उनले बताए। दुवै ठाउँमा दुई वटा एक्जाभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्न थालिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँच दिनभित्र काम सक्ने गरी सवारी रोकेर निर्माण कम्पनीलाई ताकेता गरिएको बताए। सरकारी तवरबाट आवश्यक सहजीकरण गरेर घोप्टेभीरको जोखिमपूर्ण भागलाई झार्न लागिएको अर्यालको भनाइ छ। सवारी रोकेको समयमा सडक विस्तार गर्नुपर्ने ठाउँमा पनि काम गर्न भनिएको उनले बताए।
झण्डै एक महिनायता पहिरो खसेर घोप्टेभीरमा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ। पटकपटक पहिरो खसेर सवारी रोकिने गरेका छन् भने पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भएको छ।
घोप्टेभीर मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौँतर्फ पर्छ। यो सडक हुँदै राजधानी भित्रने र बाहिरने गरिन्छ। एक दिनमा यस सडकमा एक हजार पाँच सयभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्।



प्रतिक्रिया