काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको परराष्ट्र नीति असंलग्नतामा आधारित रहेको बताउनु भएको छ ।
चाइनिज पिपुल्स एसोसियसन फर पिस एन्ड डिसआर्मामेन्ट (सीपीएसपीडी)द्वारा आयोजित कार्यक्रममा बुधबार दिउँसो भिडियोमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालले पञ्चशीलमा विश्वास गर्ने र राष्ट्रहरूबीच विवाद भएमा त्यसलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने बताउनु भयो ।
चीनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति भण्डारीलाई उक्त कार्यक्रममा सहभागी हुनका लागि पत्राचार गरेको थियो ।
राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालका अनुसार उक्त सम्बोधनमा राष्ट्रपतिले शान्तिपूर्ण माध्यमबाट मात्र विश्व शान्तिमा योगदान पुग्ने बताउनु भयो ।
राष्ट्रपति भण्डारीले नेपाल विकासशील मुलुकको रुपमा स्तरोन्नति हुने क्रममा रहेको र दीगो विकासमा उल्लिखित लक्ष्य प्राप्त गर्ने गरी यी दुईवटा विषयमा योजना नै बनाएर अग्रसर भइरहेको बताउनु भयो । उहाँले भिडियोमार्फत भन्नुभयो, ‘यसका निम्ति नेपाललाई गरीबीको चपेटाबाट हट्नका लागि ठूलो लगानी चाहिन्छ । त्यसका लागि नेपालको प्रयास मात्र पर्याप्त हुँदैन । त्यसका लागि विकासका साझेदार मुलुकहरूले नेपाललाई खुलेर सहयोग गरिदिए हुन्थ्यो भन्ने नेपालको अपेक्षा छ ।’







प्रतिक्रिया