काठमाडौं – निर्वाचन आयोगले बजेटबाहिरबाट गरिएको खर्चको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी नयाँ योजना र कार्यक्रम कार्यन्वयनमा आएको गुनासो आएपछि आयोगले शुक्रबार उक्त निर्देशन दिएको हो ।
सरकारले गत साउन १९ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको थियो।
निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर गर्ने आयोगले जनाएको छ ।
वार्षिक बजेट तथा कार्यक्रमहरुमा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रमहरु समेत तयार गरी अर्थ मन्त्रालयबाट विभिन्न मन्त्रालय तथा निकायहरुमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको भन्ने विषयमा आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया